विराटनगर । विराटनगर महानगरपालिकामा थप एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरका अनुसार हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्याका कारण भर्ना गरिएकी महिलालाई सुरुमा आकश्मिक कक्षमा राखेर उपचार गरिएको उनले बताए ।
पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा भर्ना गर्ने तयारीका क्रममा आकश्मिक कक्षमै मृत्यु भएको राठौरले जानकारी दिए ।
त्यसैगरी अस्पतालका कोभिड फोकलपर्सन डा. पुरु कोइरालाले महिलामा निमोनियाको समस्या पनि देखिएको बताए ।
विराट शिक्षण अस्पतालले बिहीबारदेखि संक्रमितको उपचार गर्ने गरी ६० बेडको आइसोलेशन सञ्चालनमा ल्याएको छ।
विराटनगरमा हालसम्म दुईमहिला र नौ पुरुष गरी कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ ।