केहि दिन यता कोरोना संक्रमित बिशेष गरेर सामान्य वा लक्षण नभएकाहरुलाई घरमा नै बस्ने नीति सरकारले लिएको देखिन्छ । संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै जानु र सीमित अस्पताल तथा स्वस्थाकर्मीहरुको कारणले गर्दा बिशेष निगरानी र औषधि चाहिने संक्रमितहरुलाई बाहेक अरुलाई भर्ना नलिने नीति अपनाएको हो ।
विकसित देशहरुमा पनि सामान्य लक्षणहरु भएकाहरुलाई घरमा नै बसेर स्वस्थलाभ गर्न सुझाब दिएको देखिन्छ । तर पनि संक्रमण पुष्टि भैसकेको अवस्थामा त्रास भने श्रृजना हुने गरेको देखिन्छ ।
अचानक मृत्यु हुने हो कि ?, परिवारको सदस्यहरु बिशेषत वृद्ध र दीर्घ रोग भएकालाई सर्ने हो कि ? कस्तो अवस्थालाई स्वास्थमा जोखिम शुरु भएको मान्ने वा अस्पताल जाने ? समाजबाट अबहेलित हुने होकी भन्ने मानसिक तनावलगायत संक्रमितमा खुल्दुली हुने बहु प्रश्नहरु हुन् ।
नेपालमा कोरोना संक्रमितहरु स्वस्थ लाभ गरेर घर फर्किएकाहरुको पछिल्लो प्रकाशित नतिजा हेर्दा प्रतिशतमा झन्डै ७१ रहेको देखिन्छ । मृत्युदर शुन्य दशमलब तीन प्रतिशत देखिन्छ । यसले जोकोहीलाई संक्रमण हुदैमा मृत्यु नै हुन्छ भन्ने देखाउदैन ।
घरमा एक्लै बस्दा आफु संक्रमित भएर मृत्यु नै हुन्छ भन्ने अनेकन कुराहरु खेल्ने गर्दा आत्मा बिश्वास घट्ने र शरीरिक रुपमा समेत कमजोर हुनसक्ने छ । अस्पतालमा हँुदा भने कम्तिमा दिनमा एकपटक भएपनि आफ्नो जिज्ञासाहरु स्वस्थाकर्मी र अस्पतालकर्मीसंग भन्न पाउने हुँदा केहि हदसम्म मन पनि हलुका हुन सक्दछ ।
कम्तिमा स्वस्थमा केहि समस्या देखिए तत्काल उपचार पाउनेमा ढुक्क हुने र यसले गर्दा आत्म बिश्वास बढ्ने गर्दछ । हुनत कसै कसैको लागि घरमा बस्दा अस्पताल भन्दा बढी हेरचाह र पारिवारिक सान्त्वना पाउने हुनसक्दछ तर धेरै मानिसहरुको लागि त्यस्तो अवस्था नहुन सक्दछ ।
माथि उल्लेख गरे झैँ यो भाइरसको मृत्युदर कम देखिएकोले संक्रमण हुनु भनेको मृत्यु अनिवार्य हो भनेर सोच्नु हुदैन । हाल नेपालमा मौसमी रुघा खोकी र फ्लु देखिने समय पनि हो । मौसमी रुघा खोकी र फ्लुको लक्षणहरु धेरै हदसम्म कोभिड १९ संग मिल्दो जुल्दो हुन्छन ।
संक्रमित भएर बसेको अवस्थामा स्वास्थ मानिसहरुमा पनि मौसमी रुघा खोकी र फ्लुको लक्षण देखिने बित्तिकै पनि कोभिड १९ को शंका गर्ने गरिन्छ । हाल नेपालमा फ्लुको परीक्षण हुने गरेको छैन ।
र त्यस्तै यो लेखकको ब्यतिगत सम्पर्कमा रुघाखोकी जस्तो लक्षण लिएर आउनेहरुमा कोरोना भाइरसको पीसीआर गर्दा नेगेटिभ देखिएको थुप्रो घटनाहरु पनि छन । तसर्थ रुघाखोकी हुनु भनेको कोरोना भाइरसको संक्रमण नै हो भनेर सोच्नु हुदैन । यस्तो सोचले धेरैको मनमा नकारात्मक भावना र सोचहरु बिकसित हुने गर्दछ ।
रुघाखोकीको संक्रमणको कारणले लक्षणहरु देखिने र होम आइसोलेशनमा एक्लै बस्दा स्वस्थाकर्मीसंग परामर्श लिन समेत कहिले काहि नपाउदा धेरैले कोरोनाको लक्षणहरु देखिन थालेको भनि आत्तिन सक्ने अवस्था श्रृजना हुन सक्नेछ ।
तर, पनि त्यस्तो अवस्थामा जोकोही चिकित्सकको सम्पर्कमा कोरोना पुष्टि भएदेखि नै बस्दा राम्रो हुनेछ । बिशेषत श्वास प्रश्वासमा समस्य देखिन थाले तुरुन्त स्वस्थाकर्मीलाई खबर गर्नु पर्दछ।
हाल पछिल्लो समय कोरोना भाइरस हावाबाट सर्ने दाबी बैज्ञानिकहरुले गर्दै आइरहेको छ । विश्व स्वास्थ संगठनले पहिले संक्रमितले खोक्दा र हाच्हिउ गर्दा थुकको छिटाको मध्यमबाट सर्ने गरेको उल्लेख गर्दै आहेको भएता पनि यो दाबीलाई नकारेको पनि छैन ।
तसर्थ सक्रमण पुष्टि भएर आइशोलेट भएर बसेको कोठामा भेन्टिलेशन वा हावा राम्रोसंग आवतजावत हुने व्यवस्था हुनुपर्दछ ।यस्तो बिशेष गरेर एकै कोठामा परिवारको सबै सदस्य बसेको अवस्थामा झन सान्दर्भिक देखिन्छ । यसले परिवारको अरु सदस्यलाई कोरोना सर्ने सम्भावना न्यून हुनेछ ।
नेपालमा बिशेष ठूला शहरहरुमा सानो कोठामा सबै परिवारका सदस्यहरु बसेको पाइन्छ । त्यस्तै परिवारका सदस्यहरु बीच बार्ता गर्नुपर्ने अवस्था आहेमा दुबैले सही तरिकाले मास्क लगाएर मात्र गर्नु पर्दछ ।
संक्रमितले प्रयोग गरेको सरसामानहरु राम्ररी डिसइन्फेक्सन नगरी अरु सदस्यहरुले छुनु हुदैन । शौचालय पनि संक्रमितले प्रयोग गरिसकेपछि डिसइन्फेक्सन गर्नु पर्दछ । नेपालमा धेरैको प्रशस्त कोठाहरु हुनेहरुको शौचालय भने एकै हुने गर्दछ । नेपालको ढलहरुमा पनि कोरोना भाइरस पुष्टि भैसकेको अवस्थामा शौच गरिसकेपछि शौचालय राम्ररी सफा गरेर मात्र फर्कनु पर्दछ ।
आइशोलेश भएर बसेको कोठामा संक्रमितको लागि समय बिताउने वा मनोरन्जनका सामग्री हुनु पर्दछ जसले गर्दा मनमा नकारात्मक सोचहरु पैदा नहोस् । इन्टरनेट, टिभी, पत्रिका, किताबहरु आदि भएमा संक्रमितलाई मनलाई एकत्रित गर्न सकिने छ र त्यसले गर्दा नकारात्मक सोचहरु बिकसित हुन पाउदैन ।
यसरी आइशोलेसनमा बस्दा डिप्रेसनमा गएर आत्महत्या गरेका प्रशस्त उदाहरणहरु हामीले बितेका तीन महिनामा देखिसकेका छौ । कोरोनालाई जित्न सकारात्मक सोचको पनि आवस्यकता पर्दछ अथवा कम्तिमा पनि कोरोना बारेमा नकारात्मक सोचहरु आउन दिनु हुदैन ।
होम आइशोलेशमा भए परिवारका अरु सदस्यहरुको बिशेष भूमिका हुनेछ । त्यस्तै समाजले पनि कोरोना संक्रमितलाई हेर्ने नकारात्मक दृष्टिलाई छोड्नु पर्दछ । आज अरु कसैलाई छ भने भोलि आफुलाई पनि नहोला भन्न सकिदैन भनेर सोच्नु पर्दछ किनभने भाइरसले यो त्यो भन्दैन र जोकोही पनि संक्रमित कुनै पनि बेला हुनसक्दछ ।
संक्रमित बिशेषत लक्षण बिहीन र लक्षण सहितको देखिने गरेको पाइन्छ । केहि समय अघिसम्म संक्रमितहरुमा लक्षण नदेखिनु ९९ दशमलव ७ प्रतिशत थियो भने हाल केहीमा लक्षणहरु देखिन शुरु भएको सम्बन्धित निकायले सार्वजनिक गरेको छ ।
शुरुआतीको समयमा संक्रमितहरुमा लक्षण नदेखिदा पनि अस्पतालमा भर्ना गर्ने गरेको थियो । तर हाल संक्रमितको संख्या बढ्दै जादा लक्षण नदेखिनेहरुलाई अस्पताल भर्ना नगर्ने निर्णय संगै संक्रमित कहाँ बस्ने भने रनभुल्लमा परेको देखिन्छ ।
घर जाउ परिवारलाई कोरोना सर्छ कि भन्ने डर भएको देखिन्छ । एउटा कोठा मात्र भएका वा बिभिन्न कारणले संक्रमण आफ्नो परिवारको सदस्यलाई सर्न सक्ने जोखिम र अवस्था भए उनीहरुको लागि सरकारले कहाँ र कसरी राख्दा सुरक्षित हुन्छ भन्ने योजना बनाउन सक्दछ ।
बिभिन्न देशहरुले जस्तै रंगशाला, खुलाठाउँ आधिको प्रयोग गरि त्यस्ता ठाउँहरुमा कोरोना संक्रमित राख्ने अस्थायी प्रकृतिको घर बनाएर स्वस्थाकर्मीको निगरानीमा राखेको देखिन्छ । यसले गर्दा सक्रमित पनि आस्वथ हुने र संक्रमण अरु फैलने सम्भावना कम भएर जानेछ ।
होम आइशोलेसन बस्ने निर्णय गरेको हो भने माथि उल्लेखित सतर्कताहरु अपनाउनु अति जरुरी हुनेछ, किनभने कोरोनाको महामारी अरु फैलन नदिन द्रूत गतिमा संक्रमित पत्ता लगाउने, कन्ट्याक ट्रेसिंग गर्ने र संक्रमितहरुबाट थप अरुलाई नसरोस भन्नका लागि व्यवस्थित र सुरक्षित आइशोलेसनको व्यवस्था हुन अति जरुरी हुनेछ ।
लेखक पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।