ओखलढुंगा । ओखलढुंगाका जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार श्रेष्ठसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित मध्येमा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवार पनि छन् ।
उनीहरुलाई केही दिनदेखी ज्वरो आएको र सदरमुकाम ओखलढुंगास्थित कोठामै आराम गरिरहेका थिए ।
त्यस अघि उनीहरु काँग्रेसको क्रियाशिल सदस्यता वितरण अभियानमा गाउँ घुमेका थिए । यद्यपी उनीहरुलाई कसरी संक्रमण भयो भन्ने यकिन भएको छैन ।
सभापति सुनुवारले आफँु संक्रमित भएको र जिल्लाबासीलाई सुरक्षित रहन अपिल गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ सहित उनको परीवारका ३ जना सदस्यमा समेत कोरोना देखिएको छ ।
उनका परिवार केही पहिले काठमाण्डौबाट जिल्ला आएका थिए ।
संक्रमितहरुलाई रुम्जाटारको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । संक्रमति अन्य १ सर्वसाधारण र ३ प्रहरी रहेका छन् ।
पछिल्लो समय पठाइएको ८१ जनाको स्वाबमध्ये १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
उनका अनुसार ९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय संक्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको हो ।
पार्टी प्रवेश गराउने प्रतिस्पर्धाले जिल्लामा कोरोना संक्रमण फैलिएको स्थानीयको आरोप छ ।