विराटनगर । विराटनगरमा एक वृद्धको मृत्यू पछि कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरपालिका–६ का ६६ वर्षीय पुरुषको कोरोना रिपोर्ट बिहीबार बिहान १० बजे पोजिटिभ आएको हो ।
कोशी अस्पतालको आइसोलेसनमा उपचारका लागि उनलाई बुधबारराति ११ बजे भर्ना गरिएको थियो ।
ज्वरो आउने, खोकी लाग्ने र दम बढ्ने समस्या भएपछि उनलाई सुरुमा विराटनगरकै लाइफ गार्ड अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई राति लाइफ गार्डले कोशी रेफर गरेको हो ।
तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको राति १२ः१५ बजे मृत्यु भएको कोशी अस्पतालका आइसोलेसन संयोजक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले बताए ।
उनका अनुसार मृत्युपछि स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो ।
हालसम्म उपचारका लागि कोशीको आइसोलेसनमा भर्ना भएका १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा मात्रै २० जना संक्रमितको मृत्यु भइसकेको छ ।