काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको छ । यो पार्टी सर्वाेच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको छ ।
जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका छन् । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध भने प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।
सभापति शेरबहादुर देउवाले पुनःस्थापनाको मुद्दा उठाएर सडकमा जान नसकिने स्पष्ट पारेका छन् । शुक्रबारको बैठकलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर निर्णय गरिसकेकाले पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा जानुपर्ने बताएका थिए । त्यसको जवाफमा सभापति देउवाले तत्काल त्यो सम्भव नरहेको बताएका हुन् ।