विराटनगर । केही दिनअघि बेलायतमा पत्ता लागेको कोरोनाभाइरसको नयाँ स्वरुपबाट संक्रमित व्यक्ति फ्रान्समा पनि भेटिएका छन् ।
द्रुत गतिमा सर्न सक्ने भनिएको नयाँ कोरोनाभाइरस बेलायतबाट फ्रान्स फर्किएका व्यक्तिमा पत्ता लागेको बताइएको छ ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार ती व्यक्ति टुअर्स शहरमा बस्छन् र १९ डिसेम्बरमा लन्डनबाट फर्किएका थिए ।
ती व्यक्तिलाई कुनै लक्षण भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा राखिएको छ । फ्रान्समा यो भाइरस थप फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।
बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप भेटिएपछि धेरै देशहरुले त्यहाँ यात्रा प्रतिबन्ध लगाएका छन् । फ्रान्सले पनि जहाज र यातायात सम्पर्क विच्छेद गरेको थियो ।
तर, सामान बोकेर सडकमै रोकिएका लरीलाई पनि गन्तव्यमा पुग्न दिने फ्रान्सले निर्णय गरेको थियो ।
नयाँ स्वरुपको भाइरसको संक्रमण भएका व्यक्ति दक्षिण अफ्रिकामा पनि भेटिएका छन् । यो भाइरस बढी संक्रामक भएको पाइए पनि बढी घातक भने नभएको वैज्ञानिकहरुले बताएका छन् । तर, यसबारे थप अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाइ छ ।
बेलायतमा यो भाइरसमाथि खोपको पनि परीक्षण भइरहेको छ । नयाँ भाइरस पत्ता लागेसँगै वैज्ञानिकहरु चिन्तित बनेका छन् ।