काठमाडौं । नेकपा ओली समूहले मातहतको कमिटीलाई पुस ७–९ मा सकिएको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर अन्तरपार्टी निर्देशिका (अपानि) जारी गरेको छ ।
१६ पृष्ठ लामो अपानिमा पार्टी विभाजन र संसद विघटनको कारण खुलाउँदै निर्वाचनमा जुट्न निर्देशन दिइएको छ ।
केपी शर्मा ओलीको हस्ताक्षरमा जारी गरिएको अपानिमा प्रतिनिधिसभा विघटनसँग असहमत नेपाली कांग्रेस क्रमशः निर्वाचनउन्मुख हुने विश्वास गरिएको छ ।
‘प्रतिनिधिसभा विघटनसँग असहमत नेपाली कांग्रेसलगायत लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने राजनीतिक दलहरु क्रमशः निर्वाचन उन्मुख हुने छन्’, अपानिमा उल्लेख छ ।
वैशाख १७ र २७ मा निर्वाचन हुनेमा आशंका नगर्न यो समूहले आग्रह गरेको छ । तर, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु यसबाट अनुचित लाभ उठाउने प्रयासमा रहेकोमा सचेत गराइएको छ ।
यो समूहले अब पार्टीहरु घोषणापत्र लिएर जानुको विकल्प नरहेको समेत उल्लेख गरेकोछ ।