विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री पदनै दाबी गरेपछि नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव पारित गर्न सघाए त्यस विषयमा छलफल गर्न सकिने बताएको छ ।
संसद सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्तावमाथिको छलफलमा प्रचण्ड–नेपाल समूहले बहुमत पुर्याए मुख्यमन्त्री राई स्वत हट्नेछन् । त्यसका लागि आफ्नो समूहको स्पष्ट बहुमत नभएपछि सो समूहले कांग्रेसको साथ लिनैपर्ने बाध्यता छ । कांग्रेसले पनि आफूलाई मुख्यमन्त्रीसहित सरकारको नेतृत्व दिने समूहसँग सहकार्य हुनसक्ने बताउँदै आएको छ ।
प्रचण्ड–नेपाल समूहबाट मुख्यमन्त्रीमा प्रस्ताव गरेका नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्यले पहिले अविश्वास प्रस्ताव पारित गरेपछि मात्रै आगामी सरकारको स्वरुपबारे कांग्रेससँग छलफल हुने बताए । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभाको आगामी बैठकको कार्यसूची बन्ने र त्यस प्रस्तावको पक्षमा कांग्रेसले साथ दिए कांग्रेसको प्रस्तावमा सकरात्मक हुन सक्ने आचार्यको तर्क छ ।
आचार्यले दुबै पार्टी सडकमा रहेको र एजेण्डा मिलेका कारण अविश्वासको प्रस्तावमा पहिले कांग्रेसले समर्थन गर्ने र त्यसपछि नयाँ सरकारबारे छलफल हुने बताएका हुन् । ‘पहिलो स्टेप अविश्वास प्रस्ताव पारित गर्नुपर्यो, त्यसपछि अरु बिषयमा वार्ता र समझादारी गरेर जान हामी तयार छौं’ आचार्यले भने, ‘हामीले अहिले के भनेको छौं भने पहिले अविश्वास प्रस्ताव पारित गरौं, त्यसपछि कुराकानी गरेर सबै बिषयमा छलफल गर्न तयार हुन्छौं ।’
उनले कांग्रेससँग हालसम्म औपचारिक–अनौपचारिक सबै प्रकारले वार्ता भएको जानकारी दिए । वार्तामा बस्दा कांग्रेसले पनि सबै बिषय नराखेको आचार्यले बताए । उनले सत्ता बाँडफाँडका बिषयमा अहिल्यै निश्कर्षमा पुग्न नसकिने जानकारी दिए ।
यसैबिच प्रचण्ड–नेपाल समूहले शुक्रबार विराटनगरमा विरोधसभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । आचार्यले विराटनगरको जनआन्दोलन चोक (महेन्द्र चोक) मा शुक्रबार हुने शक्ति प्रदर्शनमा ६० हजार बढी मानिसको उपस्थिति गराउने बताए । सो दिन उपस्थित हुने कार्यकर्ताहरुले आफैंले खर्च गरेर आउने र ओलीविरुद्धको आन्दोलनमा छताछुल्ल हुने गरी मानिसहरु सडकमा निस्किने दाबी गरे ।