पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको छ ।
‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।
कोरोना भाइरस महामारी र राष्ट्रिय फुटबल टोली विश्वकप फुटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समयपछि सरेको बताइन्छ । यसअघि क्लबले पुस÷माघमा प्रतियोगिता गर्दै आएको थियो ।