विराटनगर । नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् ।
नेकपा (साविक एमाले र माओवादी केन्द्र) बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई विश्लेषण गरिएको छ ।
यसले समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहभन्दा केपी शर्मा ओली समूहका पक्षमा उभिने प्रमुख र उपप्रमुख बढी देखाएको छ तर, कतै खुलिनसकेका २४ प्रमुख र २७ उपप्रमुख जुन पक्षतिर लाग्छन्, त्यो समूह बलियो हुने सम्भावना छ ।
प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पालिका प्रमुखमा ओली समूह बलियो देखिन्छ । प्रदेश २, वाग्मती र कर्णालीमा दाहाल–नेपाल समूहका पालिका प्रमुख बढी छन् ।
४ सय ३८ स्थानीय तहमा नेकपाका उपप्रमुख रहेकामा ओली समूह प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मात्रै बलियो छ, प्रदेश २, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा धेरै उपप्रमुख दाहालनेपालतिर लागेका छन् ।
नेकपाका ३ सय ८८ पालिका प्रमुखमध्ये १ सय ८९ जना ओली समूहमा र १ सय ७४ जना दाहाल–नेपाल समूहमा देखिएका छन् । २४ जना पालिका प्रमुख कतै खुलेका छैनन् । एक जना पालिका प्रमुख पार्टी एकताका पक्षमा अभियान सुरु गरेका नेता वामदेव गौतमको समूहमा छन् ।
त्यस्तै, ४ सय ३८ स्थानीय तहमा रहेका नेकपाका उपप्रमुखमध्ये २ सय २० जना ओली समूहमा र १ सय ९० जना दाहाल–नेपाल समूहमा देखिएका छन् । २७ जना उपप्रमुख कतै खुलेका छैनन् भने एक जना उपप्रमुख गौतमका पक्षमा उभिएका छन् ।
तथ्यांक विश्लेषण गर्दा तत्कालीन एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखमध्ये अधिकांश नेकपा विभाजनपछि ओली र दाहाल–नेपाल समूहमा बाँडिएका छन । ३० जना पालिका प्रमख भने ’पर्ख र हेर’ को अवस्थामा छन् तर तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखमध्ये प्रदेश २ का ४ र लुम्बिनी प्रदेशका १ जनाबाहेक सबैजसो दाहाल(नेपाल समूहमै देखिन्छन् ।
स्थानीय निर्वाचनका बेला तत्कालीन एमालेमा अध्यक्ष ओली टिकट वितरणमा प्रभावी देखिएका थिए । त्यसैले निर्वाचित पालिका प्रमुख र उपप्रमुखमा ओलीको पल्ला भारी भएको हुन सक्छ । पालिका प्रमुख र उपप्रमुख दुवै नेकपाका भएका केही स्थानीय तहमा प्रमुख एउटा र उपप्रमुख अर्को पक्षमा विभाजित छन् । जस्तो कि पाँचथरको याङवरक गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवै नेकपाका थिए । विभाजनपछि प्रमुख दाहाल–नेपाल पक्षमा उभिए भने उपप्रमुख ओली पक्षमा छन् ।
पार्टी विभाजनको असर स्थानीय तहमा देखिएको अर्को प्रतिनिधि उदाहरण नुवाकोट हो । उक्त जिल्लाको तारकेश्वर गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवैमा तत्कालीन एमालेले जितेको थियो तर अहिले प्रमख ओली र उपप्रमख दाहालनेपाल पक्षमा विभाजित भए ।
प्रदेश १ मा यस्तो छ
प्रदेश १ का स्थानीय तहमा नेकपाका ७५ जना निर्वाचित प्रमुख छन् । तीमध्ये ६६ जना तत्कालीन एमालेबाट र ९ जना तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
पार्टी विभाजन सुरु भएपछि उनीहरूमध्ये ४१ जना ओली समूहमा र ३१ जना दाहाल–नेपाल समूहमा देखिएका छन् ।
तत्कालीन एमालेबाट निर्वाचित ३ जना प्रमुखले कित्ता प्रस्ट पारेका छैनन् । यो प्रदेशका स्थानीय तहमा नेकपाका ९२ जना उपप्रमुख छन् ।
तीमध्ये ५९ जना ओली समूहमा उभिएका छन् भने २६ जना दाहालनेपाल समूहमा देखिन्छन् । ७ जना भने तटस्थ छन् । आजको कान्तिपुरमा खबर छ ।