विराटनगर । पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले पाएको नगदसहितको सम्मानको रकम सोलुखुम्बुको सोलु एफएमलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
दुखको साथी नेपाल नामक सस्थाले दिएको ११ हजार रुपैयाँ राशीको सम्मान रकम लुइटेलले आगालागीमा परी नष्ट भएको प्रदेश १ कै पहिलो सामुदायिक एफएम सोलु एफएम पुननिर्माणको लागि सहयोग गरेका हुन् ।
सनिबार विराटनगरमा पहिलो वार्षीक उत्सवको अवसरमा आयोजित कार्यक्रममा दुखको साथी नेपालले ५ जना पत्रकारहरुलाई सम्मान गरेको थियो ।
यस्तै संस्थाले क्यान्सर रोगको कारण बिरामी रहेका विराटनगरका पत्रकार कमल पौडेलको उपचारको लागि २५ हजार रुपैयाँ सहयोग समेत गरेको संस्थाकी अध्यक्ष जया पोखरेलले बताइन् ।
सम्मानितहरुलाई पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डितले नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
गत वर्ष स्थापना भएको सो संस्थाले गतवर्ष कोरोना महामारीको बेला २ हजार जना भन्दा बढी खाद्यान्न सहयोग गरेको थियो । संस्थाले बिरामी तथा असाहयहरुको सेवा गर्दै आइरहेको छ ।