Lite Nepal

बुधबार, बैशाख १५, २०७८

विराटनगर । प्रदेश १ का सरकारी तथा निजी अस्पतालले कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन आफैं उत्पादन गर्न अग्रसरता लिएका छन्। केही निजीले उत्पादन सुरु गरेका छन् भने केहीले वैशाखभित्रै सञ्चालनको तयारी गरेका छन्।

प्रदेश सरकारले १२ सरकारी अस्पताल छनोट गरी बजेट विनियोजन गरेकाले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘अस्पताल परिसरमा आवश्यक संरचना निर्माण गरी अक्सिजन प्लान्ट राख्ने गरी १२ वटा अस्पताल छनोट भएर काम भइरहेको पनि छ’, मन्त्री उषाकला राईले भनिन्, ‘झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा केही दिनभित्रै सम्पन्न भई सञ्चालनमा आउँछ। अन्य अस्पतालले पनि यो कामलाई तीव्रता दिइरहेका छन्।’

लक्षणसहितका संक्रमितको संख्या थपिँदै जाँदा अक्सिजन अत्यावश्यक पर्ने भएकाले प्लान्ट निर्माणलाई तीव्रता दिइएको मन्त्री राईले बताइन्। ‘कोभिड अस्पतालमा रहेका संक्रमितको लागि अत्यावश्यक भनेकै अक्सिजन हो,’ उनले भनिन्, ‘विराटनगरको कोभिड अस्पतालमा बाहिरबाट दैनिक ८० सिलिन्डर अक्सिजन ल्याउने व्यवस्था मिलाइएको छ। अब हामीले उत्पादनलाई पनि चासो दिनुपर्ने समय आयो।’

७५ लाख लगानीमा झापास्थित मेची प्रादेशिक अस्पतालमा वैशाखभित्र सञ्चालनमा ल्याउने गरी अक्सिजन प्लान्ट निर्माणाधीन छ। यहाँ कोभिड संक्रमित राख्ने ७५ शय्याको बेग्लै अस्पतालसहित अक्सिजन प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेको हो। ‘अहिले धरान र विराटनगरमा मात्रै कोरोना संक्रमितलाई राखेर उपचार र निगरानी भइरहेको छ। संक्रमित थपिदै जाँदा झापामा पनि राख्नुपर्ने अवस्था चाँडै आउने भएकाले अक्सिजन प्लान्ट र बेग्लै कोभिड अस्पतालको कामलाई चासो दिएर निर्माणमा गति दिन निर्देशन दिएको छु’, उनले भनिन्।

मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट निर्माण भइरहेको छ। ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर यो अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ। साविक मेची अञ्चलका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापामा भेटिएका संक्रमितलाई धरान र विराटनगरमा राख्न अपायक हुने भएकाले पनि झापामा संरचना निर्माणलाई तीव्रता दिइएको प्रदेश १ सरकारले जनाएको छ।

झापाको बिर्तामोडमा रहेका बीएण्डसी र ओमसाई पाथिभरा अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन्। ‘हामीले हाम्रो अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन गर्न अक्सिजन प्लान्ट निर्माण गरिरहेका छौं। आवश्यक परेको समयमा जुनै अस्पताललाई पनि सहयोग गर्न सकिन्छ,’ बीएन्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने। बीएण्डसी अस्पतालमा दैनिक ३५ देखि ४० वटा सिलिन्डर अक्सिजन खपत भइरहेको छ। प्लान्ट निर्माणका लागि बीएन्डसीले ५ करोड रुपैयाँ लगानी गरिसकेको छ। बिर्तामोडकै मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएर अक्सिजन उत्पादन गरिरहेको छ भने धनकुटाको धनकुटा अस्पतालमा पनि अक्सिजन इनप्लान्ट सञ्चालनमा रहेको छ।

मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको र यसको क्षमता बढाउने योजना रहेको बताए। ‘चार महिनादेखि नै अक्सिजन उत्पादन गरी प्रयोगमा ल्याएका छौं’, उनले भने, ‘अब यसलाई थप क्षमता बढाउने पनि सोच हाम्रो छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा