ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमित सँगै मृतकको संख्या बढेपछि निषेधाज्ञा लगाइने भएको छ ।
सोमवार साँझबाट लागु हुने गरी ७ दिन सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
ताप्लेजुङको निषेधाज्ञा भने सदरमुकाम रहेको फुङ्लिङ नगरपालिका भर मात्रै कायम रहेन प्रजिअ पाण्डेले बताए ।
आइतवार अपरान्ह बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठकले उक्त निर्णय गरेको नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले जानकारी दिए ।
१० बर्ष भन्दा कम उमेरका र ६० बर्ष भन्दा माथिको उमेर समूहका कुनै पनि व्यक्ति निशेधाज्ञा अवधिभर घर बाहिर निस्कन नपाउने बैठकमा निर्णय भएको छ । यो बाहेक अनुमति प्राप्त व्यक्ति अत्यावश्यक कामका लागि भने बाहिर निस्कन सक्ने बताइएको छ ।
निषेधाज्ञाको अवज्ञा गरे वा कोरोना संक्रमण तथा व्यवस्थापनका क्रममा ऐन बिपरित हुने कार्य गरेमा संक्रामक रोग निवारण ऐन अनुसार कारवाही गर्ने प्रजिअ पाण्डेले बताए ।
कोरोना भाईरसको मिल्दोजुल्दो लक्षण देखिएर पनि परीक्षण तथा उपचारको पहुँचमा नजाने, स्वाब दिएका र शंकास्पद व्यक्ति क्वारेन्टिनमा नबसी हिड्डुल गर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कनेलाई सो ऐन बमोजिम कारबाही हुनेछ । ऐनका प्रावधान अटेर गर्नेलाइ ६ महिना कैद वा ६ सय रुपैंया जरीवाना वा दुबै सजाय हुने व्यवस्था छ ।