विराटनगर । तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा विराटनगर महानगरपालिकाको बरगाछीमा रहेको आइलन (स्तम्भ) मंगलबार राति भाँचिएको छ । ना ७ ख १४३७ नम्बरको खाली ट्रकले ठक्कर दिँदा रड, सिमेन्ट र इँटा प्रयोग गरेर नौ वर्षअघि बनाइएको आइलन भाँचिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तीव्र गतिमा रहेको ट्रक सिधै ठोक्किँदा आइलन भाँचिएर सडकको बीचमै पल्टिएको थियो । तर कोसी लोकमार्गमा सवारी सञ्चालनमा भने कुनै अवरोध पुगेन । आइलनमा ट्रक ठोक्किँदा विष्फोट भएजस्तो ठूलो आवाज आएको स्थानीयले बताए ।
दुर्घटनामा परेर ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–६ का २५ वर्षीय पदम ढुंगाना सामान्य घाइते भएका छन् । प्रहरीले नियन्त्रणमा लिएर कोसी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनले मादक पदार्थ सेवन ९मापसे० गरेको पुष्टि भएको छ । उनको साथमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० पनि नभएको प्रहरीले जनाएको छ ।
डीएसपी राईले बिना लाइसेन्सका चालकले मापसे गरेर तीव्र गतिमा चलाएको ट्रकले नियन्त्रण गुमाएका कारण दुर्घटना हुँदा आइलनमा पूर्ण रुपमा क्षति पुगेको जानकारी दिए । विराटनगर–५ मा रहेको उक्त आइलन लायन्स क्लब अफ विराटनगरले बनाएको हो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले बरकै रुखजस्तो देखिने आइलन सडकको बीचमा निर्माण गरेको थियो ।