ताप्लेजुङ । फुङलिङ नगरपालिका ५ का वडा सदस्य सुरेश सिंघक शनिबार बिहान क्याम्पस लाइन पुगे । आफ्नो वडाकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएपछि समवेदना व्यक्त गर्न उनी त्यहाँ पुगेका थिए ।
सिंघक पुग्दा काग्रेस जिल्ला सभापति लिलादेवी बोखिम, छिमेकीहरू अमिर मादेन, शिला इजमलगायत केही व्यक्ति थिए । बिहान ११ बज्यो । शव अन्तिम संस्कारका लागि लैजाने समय भयो । तर शव बोक्नेको टुंगो थिएन ।मृतकका एक छोरा र नातिमात्रै शव बोक्न तयार थिए । करिब २० मिनेटको दूरीमा पर्ने खाल्डोमा पुर्न दुई जना मात्रैले सम्भव थिएन । ‘छोराको ढाडको भर्खरै अप्रेसन गरेको रहेछ, अर्को १३/१४ वर्षको नाति थियो,’ सिंघकले भने, ‘छोरीहरू छेउमा बसेर आमारआमा भनेर रोइरहेका थिए, अवस्था हेर्नै सकिन अनि शव बोकेर हिँडें ।’
उनले प्रशासनले ल्याइदिएको पीपीई लगाएर शव बोकेको बताए । छोरा, नाति, वडासदस्य सिंघक र दाजुभाइ नाता पर्ने एक जना गरी चारजनाले शव बोकेर तोक्मेडाँडाको नर्सरी पुर्याएका थिए । यसरी शव बोक्नेको समेत अभाव हुँदा आफूलाई मृत्यु कस्तो हुन्छ भन्ने चिन्ता लागेको सिंघक बताउँछन् । घरमा ल्याएपछि संक्रमितको मृत्यु भएकाले दाहसंस्कारका लागि सेना नआएको सिंघकले बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डे भने कोरोनाकै कारण मृत्यु भएको र परिवारले आफ्नो संस्कार अनुसार आफैंले दाहसंस्कार गर्छौं भनेकाले सेना नगएको बताउँछन् । सिंघकले भने संक्रमितको अन्त्येष्टि सेनाले गर्नुपर्ने भन्ने राज्यको नियम भएकाले यस विषयमा छलफल हुनुपर्ने बताए । प्रजिअ पाण्डेले मन्त्रिपरिषद्को निर्णयअनुसार परिवार आफैंले अन्त्येष्टि गर्न चाहे दिने नियम रहेको दाबी गरे ।
यसअघि मृत्यु भएका एकजनाको अन्त्येष्टि सेनाले गरेको थियो । बिर्तामोडबाट एम्बुलेन्समा ल्याएको शव दाहसंस्कार गर्ने स्थान झ्यालखान डाँडामा एम्बुलेन्समै पुर्याएको, गुरुङ समुदायका मान्छेले बिहानै गएर चिता बनाएको र पीपीई लगाएर छोराले दागबत्ती दिएर सेनाले अन्त्येष्टि गरेको देवराज गुरुङ बताउँछन् । अन्त्येष्टिमा सहभागी सिंघक होम आइसोलेसनमा बसेका छन् । ‘परिवारका सदस्यहरू सबै होम आइसोलेसनमा बसे । म र अर्कोजना व्यक्ति पनि आइसोलेसनमा बसेका छौं,’ सिंघकले थपे, ‘अब १४ दिनसम्म आइसोलेसनमै बस्छौं ।’
फुङलिङ नगरपालिकाका दुई वडामा कोरोना संक्रमणबाट १० दिनमा तीन जनाको मृत्यु भएको छ । E-कान्तिपुरबाट सभार