विराटनगर । प्रदेश १ मा पहिलो चरणमा भन्दा छिटो संक्रमण फैलिए सँगै मृत्यू दर पनि ह्वातै बढेको छ । प्रदेश १ मा दोस्रो चरणको संक्रमणमा मात्रै १०६ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । यो विगत २८ दिनको तथ्याङ्क हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार वैशाख १ गते देखि २८ वैशाखसम्म यतिजनाले ज्यान गुमाएका हुन् । यो बिचको समयमा सबैभन्दा बढी बैशाख २२ गते एकैदिन १३ जनाले ज्यान गुमाएका थिए ।
यो साता दैनिक आठजनाका दरले संक्रमितको मृत्यु भइरहेको छ । त्यस्तै सोमबार (वैशाख २७) मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
संक्रमणको दोस्रो लहरपछि सोमबारसम्म ९७ जनाको मृत्यु थियो । सोमबार बेलुकादेखि मंगलबार बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालमा थप ९ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ सय ७७ रहेको छ । जसमध्ये प्रदेश १ मै स्थायी ठेगाना भएका मृतकको संख्या ५ सय २९ पुगेको हो ।
मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो मृत्यु बैशाख ३ गते भएको थियो । त्यसपछि वैशाख ८ गते १, ९ गते २, ११ मा ४ र १२ गते १ जनाको मृत्यू भयो । त्यसैगरी वैशाख १३ मा २, १४ मा २, १५ मा २, १६ मा ४, १७ मा २ जनाको मृत्यु भयो ।
वैशाख १८ मा ३, १९ मा ५ र २० मा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको थियो । वैशाख २१ यता दैनिक मृत्युदर ८ जना रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार २१ मा ८, २२ मा १३, २३ मा १०, २४ मा ६, २५ मा ४, २६ मा १० र २७ गते ११ को मृत्यु भएको हो ।