विराटनगर । प्रदेश १ मा अब कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा स्काउटमा आबद्ध भएकाहरु पनि खटिने भएका छन् । यस अघिसम्म सेनाले मात्रै शव व्यवस्थापन गर्दै आएको थियो ।
दक्ष जनशक्ति तयार गर्न स्काउटमा आवद्ध भएकालाई अहिले धमाधम तालिम दिइदै छ । यसै विषयमा झापामा आइतबारबाट चार दिने तालिम सुरु गरिएको छ ।
शव व्यवस्थापन तालिममा १५ जना स्वयंसेवक र प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । विराटनगरमा शनिबारबाटै स्काउटमा आवद्ध १५ जनालाई सहभागी गराएर चार दिने तालिम दिन थालिएको छ ।
शव व्यवस्थापन गर्न दक्ष जनशक्ति उत्पादनका लागि सुनसरीको इटहरीमा सोमबारदेखि १० जनालाई तालिम दिइने छ । प्रदेश १ स्काउट तदर्थ समितिको आयोजनामा नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी र नम्बर २ बाहिनी अड्डा हिलेको आवश्यक समन्वय एवं सहकार्यमा तालिम सञ्चालन गरिरहेको हो ।
तालिममा कोरोनाको रोकथाम, नियन्त्रण तथा होल्डिङ एरिया र आइसोलेसन सेन्टरको व्यवस्थापन एवं सुरक्षा तथा शव व्यवस्थापनसमेतका प्रतिकार्य सम्बन्धी सबै विषयवस्तुका बारेमा प्रशिक्षण दिइने छ ।
साथै संक्रमितको शवको उचित एवं सावधानीपूर्वक गरिने व्यवस्थापन लगायतका विषयमा डेमोस्ट्रेसन अभ्यासमार्फत पनि जानकारी दिइन्छ । व्यवस्थापनमा अपनाइने विधिसमेतका बारेमा पोख्त बनाएपछि स्काउट परिचालन हुनेछन् ।
प्रदेश १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले अब संक्रमितको शव व्यवस्थापनमा सेनाको सहयोगीका रुपमा स्काउट जनशक्ति परिचालन हुने बताए ।
यसअघि प्रदेशभरि नै स्काउटमार्फत एकअर्कामा सामाजिक दूरी कायम, मास्क र सेनिटाइजरको प्रयोग तथा साबुनपानीले नियमित सरसफाई गर्नुपर्छ भन्ने विषयमा अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
प्रदेश १ भरि स्काउटसँग आवद्ध एक हजार चार सय स्वयंसेवक परिचालित छन् ।