विराटनगर । प्रदेश १ सहित देशभरका अधिकांश क्षेत्रको मौसम मंगलबार विहानैबाट आंशिकदेखि सामान्य बदली सुरु भएको छ ।
हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली भएको छ ।
मंगलबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
यसैगरि राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैबिच पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल चक्रवात यासमा परिणत भैसकेको छ । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार धेरै शक्तिशाली चक्रवातमा परिणत हुनेछ । बुधबारसम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको मौसमविदले बताएका छन् ।
उक्त चक्रवातको केही असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले सबैलाई मौसम सजग रहन मौसमविदले आग्रह गरेका छन् ।