काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए ।
त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए । उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक प्रक्रियबाट आफू संविधानको धारा ७६ (३) अनुसार सरकार बनेको र त्यसपछि पनि अवस्थामा तात्विक भिन्नता नआएको बताए ।
त्यसपछि आफूले मार्ग प्रशस्त गर्दै उपधारा ५ को सरकार गठन गर्न आह्वान गरेको तर दलहरूमा सिद्धान्तहीन गठबन्धन बनेको एमाले र जनता समाजवादी पार्टीका सांसदहरूले दलीय पद्धति नाघेको उनले बताए । यस्तै अवस्था नेपाली कांग्रेसमा आउँदा विगतमा पनि संसद् विघटनको अवस्था आएको स्मरण गराए ।
पार्टीहरू कमजोर, विभाजन, विग्रह आउँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो । उनले निर्दलीय चरित्र ख्यालठट्टाको विषय नभएको बताए । उनले यो सबै विषय आफ्ना लागि नभनेको पनि बताए ।