विराटनगर । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारमा लाग्ने सम्पुर्ण खर्च वी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले बेहोर्ने भएका छन् ।
मेडिसिटी अस्पताल काठमाण्डौंमा उपचाररत थापाको उपचारमा खर्च अभाव भएको समाचार सार्वजनिक भएपछि प्रसाईले शनिबार विज्ञप्ति निकाल्दै उनको उपचारमा लाग्ने सम्पुर्ण खर्च आफुले प्रदान गर्ने बताएका हुन् ।
‘विएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पीटलको सामाजिक उत्तरदायित्व र मुल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस भन्ने हो,’ प्रसाईले विज्ञप्तिमा लेखेका छन् ‘गणतन्त्र दिवसको अवसर पनि परेको र गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियान्ता भएकाले मैले यो निर्णय गरेको हुँ ।’ उनले विज्ञप्ति मार्फत थापाको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
उपचारमा बढी खर्च लाग्ने र परिवारलाई आर्थिक भार नपरोस भनेर सहयोग संकलनको लागि विभिन्न संचार माध्यम मार्फत विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समेत आर्थीक सहयोगको लागि आह्वान गरेका थिए ।
कोरोना भाइरसको संक्रमण भएपछि उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । सुरुमा ह्याम्पस अस्पताल भर्ना गरिएका थापालाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । उनको केही समय सो अस्पतालमा उपचार पछि शुक्रबार नेपाल मेडिसिटी अस्पताल लगेर भर्ना गरिएको छ ।
थापाको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भएको र यो मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको र यो जटिल अवस्थामा गरिने प्रविधि भएको बताइएको छ । इक्मोको उपचारका लागि २५–३० लाख सम्म लाग्ने चिकित्सक बताउँछन् । थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए ।