ताप्लेजुङ । कोरोनाको दोस्रो लहर यता ताप्लेजुङमा ८ सय १८ जना संक्रमित भइसकेका छन् । १२ संक्रमितले ज्यान गुमाएका छन् । समुदायमै संक्रमण फैलिएपछि बैसाख २० यता निषेधाज्ञा लागु गरिएको छ । यसले दैनिक ज्यालादरी गरेर गुजारा चलाउने परिवारको रोजीरोटी गुमेको छ । कतिको रोजगारी खोसिएको छ ।
स्वास्थ्य उपकरण र पूर्वाधारको अभावका कारण कतिले सहज उपचार पाउन सकेका छैनन् । सरकारी निकाय महामारी नियन्त्रणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका छन् । विषम परिस्थितीबाट सिर्जित समस्या समाधानमा कतिपय युवाहरु पनि स्वतःस्फूर्त लागेका छन् । फुङलिङ नगरपालिका–८ का युवा जंग र क्षितिज सुनुवारले बन्दाबन्दीका कारण रोजगारी गुमाएका ३ सय ५० परिवारलाई खाद्यान्न प्रदान गरे । जेठको दोस्रो साता प्रतिपरिवार १० किलो चामल, १ किलो नुन, १ लिटर तेल, साबुन, मास्क प्रदान गरिएको थियो । ‘हामीले धेरै दिन त सकेनौं । तर पनि केहि दिन चुल्होमा आगो बलोस् भनेर सानो प्रयास गरेका हौं,’ उनले भने ।
फुङलिङकै ९ नं वडाका युवा विश्वराज राई पनि चामल लिएर वडाभित्रका विपन्नको घरघरमै पुगे । जनही १५ किलोका दरले २ सय परिवारलाई चामल प्रदान गरे । ‘वडा कार्यालयले पहिचान गरेका परिवारलाई शनिबार र आइतबार प्रदान गरेँ,’ उनले भने, ‘संकटको समयमा हामीले पनि केहि गर्नुप¥यो नी । कति सरकारलाई मात्रै गाली गर्ने ?’ यी तीन जनाले व्यक्तिगत खर्चमा टोलटोलमा पुगेर वडावासीलाई सहयोग गरेका हुन् ।
फुङलिङकै ७ नं वडाबाट रोजगारीका सिलसिलामा विदेशमा गएका युवाहरुले सहयोग संकलन अभियान चलाए । १ लाख १५ हजार रुपैयाँ जम्मा गरेर वडाभित्रका ६७ परिवारलाई जनही २५ किलो चामल, २ किलो दाल, नुन, तेल सहयोग गरे । पृथ्वी र अभय लिम्बुले यहाँ वितरण गर्न सहजिकरण गरे ।
युवाको अभियानमा वडाका जनप्रतिनिधिले ६० हजार थपिदिएका थिए । पहिलो चरणको लकडाउन सुरु हुनासाथ सरकारले विपन्नका लागि रहत वितरण गरेको थियो । पालिकाहरुले तीन चरणसम्म खाद्यान्न वितरण गरेका थिए । फुङलिङ नगरपालिकाले २ हजार ५७ परिवारलाई दिएको थियो ।
यसपाली कोरोना नियन्त्रणमै केन्द्रित हुनुपरेकाले त्यता ध्यान नपुगेको आठराई त्रिवेणीका अध्यक्ष विश्व सिटौला बताउँछन् । ‘गाउँगाउँमा पनि संक्रमण फैलदो छ । हामी परीक्षण र जनचेतना फैलाउन लागिपरेका छौं,’ उनले भने, ‘संक्रमण रोक्न नै हम्मे पर्ने भयो ।’
कोरोना संक्रमण जिल्लाका कुनाकुनाका उँसम्म पुगेको छ । लक्षणसहितका बिरामी बढेका छन् । यहाँका स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा समेत जनशक्ति र उपकरणको अभाव छ । सदरमुकामको कञ्चनजंघा माविबाट २०६१ सालमा एसएलसी उत्तिर्ण गरेका युवाहरुले जिल्ला अस्पताललाई सोमबार ४ लाख ७० हजारको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
२ थान अक्सिजन कन्सनट्रेटर मेसिन र पल्स अक्सिमिटर ५ थान, आइसोलसनमा रहेका बिरामी र आइसोलेसनमा खटिएका ४ जना स्वास्थ्यकर्मीलाई खानाको व्यवस्था गरिएको छ । बिरामीका लागि भजन सुन्न ५ हजारको साउन्ड सिस्टम समेत प्रदान गरेको पूर्व विद्यार्थी तथा फुङलिङ नगरपालिका–४ का वडाअध्यक्ष जितेन चेम्जोङ लिम्बुले सुनाए ।
यस्तै फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा जन्मिएका डाक्टर सन्दुक रुइटले गृह जिल्ला ताप्लेजुङमा शव वाहन खरिदका लागि रकम जुटाइदिएका छन् । शव वाहनको अभावमा कोरोना संक्रमणवाट मृत्यू भएकाहरुको शव ओसार्न समस्या भइरहेकाबेला आठजना ब्यक्तिहरुवाट १० लाख २५ हजार रुपैंया जुटाइदिएका हुन् ।
यसअघि निर्माण व्यावसायीहरुले अस्पताललाई एन्टिजेन किट सहयोग गरेका थिए । हिमालयन फाउण्डेसन अष्टे«लियाले पनि प्रत्येक पालिकालाई स्वास्थ्य सामग्री गरेको छ । काम र अध्ययनको सिलसिलामा बाहिर रहेका सिरिजंघा गाउँपालिका–७ का युवाहरुले पनि गाउँलाई स्थास्थ्य सामग्री प्रदान गरेका छन् । अन्नपूर्णबाट