विराटनगर । संघीय सरकारद्धारा उपलब्ध कोरोना भाइरसविरुद्ध चीनले उत्पादन गरेका भेरोसेल खोप लगाउन बुधबार प्रदेश १ का अधिकांस जिल्लामा भिड देखियो ।
अत्याधिक भिड नियन्त्रण गर्न प्रहरीनै परिचालन भएका दृष्य समेत देखिए । बृद्धबृद्धा त्यसमा पनि भिडमा ठेलठालको दृष्यले पुनः कोरोना यसै स्थानबाट त सर्दैन भन्ने प्रश्न समेत उब्जाएको छ ।
सामाजिक दुरी बिना लाईनमा राखेर खोप लगाउँदा खोपले गर्ने सकरात्मक असर भन्दा पहिले कोरोना संक्रमण पनि होला कि भन्ने चिन्ताको विषय हो । त्यसैले खोप लगाउन जाँदा अफै सचेत बन्नु नागरिकको कर्तव्य पनि हो ।
प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा पनि बुधबार दिनभर खोप लगाउनेको भिड थियो । जनस्वास्थ्य महाशाखाको खोप शाखाका अनुसार प्रदेश सरकारले दुईचरणका लागि समेत गरि महानगरलाई ७ हजार खोप उपलब्ध गराएको थियो ।
यद्धपी, मंगलबार र बुधबार खोप लगाउनका लागि महानगरपालिकाका १९ वटा वडामा ६२ वर्षमाथि उमेर समूह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नर्स, पहिलोचरणमा काठमाडौंमा लगाएका नागरिक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
महानगर प्रमुख भीम पराजुलीसहित विभिन्न वडाका प्रमुखहरु बुधबार उमेर समूहका नागरिकलाई खोप लगाउन नसकेको गुनासो गर्छन् । मेयर पराजुलीले सीमित संख्यामा खोप उपलब्ध गराउदाँ लगाउनुपर्ने नागरिकलाई समेत समेट्न नसकिएको बताए ।
उपलब्ध खोप उमेर समूहभन्दा बढि अन्य क्षेत्रका लागि लगाउनुपर्दा धेरै वडामा समस्या देखिएको उनले बताए । खोप पुग्दो अवस्थामा उपलब्ध हुन नसकेको खण्डमा अर्कोपटकबाट खोप लगाउन कार्यक्रममा महानगरपालिका सहभागिता हुन नसक्ने उनको भनाई छ ।
जनस्वास्थ्य महाशाखाले पहिलो चरणमा ३ हजार ५ सय जनालाई खोप लगाउने लक्ष्य राखेको थियो ।