विराटनगर । अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठापाठी स्थानीय जातको भएको पुष्टि भएपछि मोरङको बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सङ्खुवासभाबीच भएको बोयर बाख्रा खरिद सम्झौता खारेज भएको छ ।
बेलबारी नगरपालिकाको हिजो बसेको बसेको ६९ औँ नगर कार्यपालिकाको बैठकले सो प्रालिसँग नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धमा गत जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।
ग्रो अर्गानिक कृषि प्रालिले ठेक्काबापत जम्मा गरेको जमानत रकम जफत गरी प्रालिलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए ।
नगर कार्यपालिका सदस्य बिन्दु कला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
ग्रो अर्गानिक कृषि प्रालि संखुवासभालाई ठेक्काबापत हालसम्म कुनै प्रकारका रकम भुक्तानी नगरेको नगरपालिकाले जनाएको छ ।
बेलबारी नगरपालिकाले अस्ट्रेलिया ल्याइएका बोयर जातको बाख्रा भन्दै कोरोनाको महामारीबीच नगरपालिकाले कृषक समूह तथा व्यवसायिक फर्महरूलाई गएको जेठ १५ मा बाख्राका पाठापाठी वितरण बितरण गरेको थियो ।
सो समयमा नगरपालिकाले ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको थियो ।
नगरपालिकाले अस्ट्रेलियाबाट बोका ल्याएर वितरण गरेको दाबी गरेको केही दिन पछि ती बाख्रा स्थानीय बजारबाटै भित्र्याइएको खुलेको थियो ।