ताप्लेजुङ । फुङलिङ नगरपालिका ११ फावाखोलाका गोपाल बिष्ट भेडा धपाउँदै लेकबेंसी गर्न थालेको २२ वर्ष भयो ।
१२ वर्षअघिसम्म सिद्धिमा लगेका एक हजार भेडा दुई जना मात्रैले हेर्न सक्थे । फक्ताङलुङ गाउँपालिका ६ लेलेपको सेलेले पु¥याएका उनका तीन सय ५० भेडा हेर्न अहिले ७ जना मान्छे राखेका छन् ।
४३ सय मिटर उचाइमा रहेको यहाँ घाँस प्रशस्त छ । भेडा आफ्नो खुसीले घुमफिर गर्न, चर्न पाउँछन् । तर त्रास वन्यजन्तुको छ । मौका परे गोठै रित्याउने गरी आक्रमण गर्छन् । प्रत्येक वर्ष १०÷१२ वटा भेडा क्षति गर्ने वन्यजन्तुले दुई वर्षअघि आफ्ना २५ वटा भेडा मारिदिएको उनले सुनाए ।
पछिल्ला दुई वर्षमा अम्जिलेसाका डोक्पाचुङदाका १४ वटा चौंरी वन्यजन्तुले खाइदियो । सिद्धिमा पु¥याएका चौंरी एकपछि अर्को गरेर खाएपछि उनले यो वर्ष जेठमै गोठ याङमातर्फ धपाएका छन् । नाङगोला नाका कटाएर लगेको गोठ याङमामा तुलनात्मक रूपमा सुरक्षित हुने उनको भनाइ छ ।
सबै गोठहरू एकीकृत गर्दा हेरालु धेरै हुने र क्षति कम गर्न सकिने डोक्पा चुङदाले बताए । ‘पहिला सिद्धिमा पु¥याएपछि गोठ सुरक्षित हुन्थ्यो,’ डोक्पाचुङदाले भने, ‘अहिले सिद्धि नै असुरक्षित हुन थालेको छ ।’ गोठपालकहरू घुन्सादेखि माथिको हिमाली भेगलाई सिद्धि भन्छन् । त्यहाँ घाँसे मैदानमात्रै छ ।
‘अहिले त तीन खालका जन्तु छन्,’ गोपाल भन्छन्, ‘दिउँसो कुहिरो लागेका बेला साह्रै ध्यान दिएर जोगाउनुपर्छ ।’ सबैभन्दा बढी ब्वाँसोले क्षति गर्ने गरेको उनले सुनाए । योबाहेक हिउँचितुवा, च्याङवु र नाम नखुलेको भेडाजस्तै जनावरले आक्रमण गर्ने गरेको छ । अहिलेसम्म रातिचाहिँ आक्रमण गरेका छैनन् ।
‘हामी पनि भेडा राखेको गोठमै सुत्छौं, चार÷पाँचवटा कुकुर पनि हुन्छन्, त्यसैले राति आक्रमण गरेको छैन,’ गोपालले भने, ‘दिनमै सिध्याइदिन्छ । त्यसमा पनि मौसम बिग्रियो भने सबैभन्दा खतरनाक हुन्छ ।’ प्रत्येक दिन चर्ने बानी भएका भेडा, चौंरी जस्ता जनावरलाई आज मौसम बिग्रियो गोठमै राखौं भन्न मिल्दैन ।
उनीहरूको चरनको समय भएपछि ठूलठूलो आवाज निकालेर कराउन थाल्छन् । हिमालमा बाँध्ने चलन हुँदैन र बाँधेर साध्य पनि हुँदैन । सम्भव भएसम्म भेडालाई वरिपरि चित्राले बारेर राख्ने हो । चरनमा जाने समय हुँदा पनि ढोका नखोले सबै लागेर भत्काउँछन् । चौरीलाई त खुलै छोड्ने गरिएको छ ।
यस्तै आक्रमण बढ्दै गए सिद्धिमा लाने अवस्था नहुने गोपालको बुझाइ छ । वन्यजन्तुको आक्रमण नभए सिद्धि जति आनन्द कतै नहुने उनले बताए । ‘म एक घण्टामा एक सय ५ वटा भेडा दुहुन्छु,’ गोपालले थपे, ‘वन्यजन्तुको डर नहुने हो भने त दुई जनाले एक हजारसम्म पनि भेडा, चौंरी हेर्न सकिन्छ ।’
बिहान र बेलुका दुई पटक दुहुने र पकाएर खानेबाहेकको काम नहुने उनले बताए । ब्वाँसोले मलद्वारबाट खुट्टा छिराएर आन्द्रा निकाल्ने र लडाउने गरेको छ । भेडापालक कमल बिष्ट भन्छन्, ‘यतिसम्म गर्छ कि एउटालाई लडाउँछ र अलिकति खान्छ, त्यो खाएको बान्ता गरेर फाल्छ अनि फेरि अर्कोलाई लडाउँछ ।’
भेडा र चौंरी दुवैको उत्तिकै सिकार हुने गरेको कमलले सुनाए । पहिला चैत अन्तिमतिरै सिद्धि पु¥याउने र मंसिरमा मात्रै औल झार्ने चलन भए पनि पछिल्ला वर्ष रुटिन फेरिएको छ ।
‘यो वर्ष मैले जेठ १७ गतेमात्रै घुन्साबाट उकालो लगाएँ,’ गोपालले भने, ‘अब खै कति राखिन्छ त्यो त पत्तै नहुने भयो ।’ जन्तुले निसाना बनाउन थाले भने चाँडै फर्काउनुपर्ने अवस्था हुन सक्ने उनले बताए । कान्तिपुरबाट