हेर्दा हट्टाकट्टा देखिने राजीव मोक्तान (४४) अचानक छाती दुखेपछि अस्पताल पुगे । छातीको एन्जिओग्राफी गरियो । मेडिकल रिपोर्ट हेरेर परिवारका सदस्य मात्र होइन, मुटुरोग विशषज्ञ नै चकित परे । मोक्तान भन्छन, ‘यसअघि त्यस्तो खासै समस्या परेको थिएन ।
रिपोर्ट हेर्दा त साठी प्रतिशत रगत बहने नसा ब्लक भएको रहेछ ।’अहिले उनी रक्तनली ब्लक गर्न भूमिका खेल्ने खराब कोलेस्टेरोल (एलडीएल) घटाउने औषधि सेवन गरिरहेका छन् । मुटुरोग विशेषज्ञहरूका अनुसार मोक्तानजस्ता धेरै युवा छन्, जो हेर्दा स्वस्थ देखिन्छन्, तर भित्रभित्रै रक्तनलीमा नराम्रो कोलेस्टेरोल जम्मा भएर रक्तप्रवाहमा समस्या भइरहेको थाहा नै पाउँदैनन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार नेपालमा हृदयाघात (हर्ट अट्याक) भएर ज्यान गुमाउनेहरूमध्ये आधाभन्दा बढीमा रक्तनलीमा कोलेस्टेरोल जमेर अवरोध भएको पाइएको छ । नेपालमा करिब ४० लाख व्यक्ति मुटुको कुनै न कुनै समस्याबाट पीडित भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् ।
उनका अनुसार दश वर्षयता मुटुका बिरामीहरू पाँच गुणाले वृद्धि भएका छन् । विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणअनुसार सन् २०२० सम्ममा विश्वभरि मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने छ ।
कोलेस्टेरोल मुख्यतः दुई किसिमको हुन्छ । जसमध्ये हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) फाइदाजनक मानिन्छ भने लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) हानिकारक । तर, शरीरलाई हानि पुर्याउने एलडीएल कोलेस्टेरोल खानाको माध्यमबाट पनि शरीरले प्राप्त गरिरहेको हुन्छ । शरीरले आफैँ पनि यो कोलेस्टेरोल उत्पादन गर्छ ।
एलडीएल आवश्यकताभन्दा बढी भयो भने शरीरका अंगहरूमा रगत प्रवाह गर्ने रक्तनलीहरूको भित्तामा जम्मा भएर बस्न पुग्छ । खानपान र जीवनशैलीमा सुधार नगर्ने हो भने जम्मा हुँदै गएको खराब कोलेस्टेरोलले अन्ततः रक्तनलीलाई साँघुरो बनाएर राख्छ । रगत प्रवाहलाई नै रोकेर हृदयघात गराउन सक्ने मुटुरोग विशेषज्ञ डा. अनिल बताउँछन् ।
शरीरका अन्य अंगहरूमा रगत पुर्याउने नलीहरूलाई अवरुद्ध बनाएर मस्तिष्कघात तथा अन्य अंग हात, खुट्टा आदि नचल्ने पनि बनाउन सक्छ । त्यसैले यसलाई खराब कोलेस्टेरोलका रूपमा लिइन्छ । एचडीएल कोलेस्टेरोल भने शरीरका लागि फाइदाजनक मानिन्छ । यसको घनत्व बढी हुन्छ र रक्तनलीमा जम्मा हुने अनावश्यक कोलेस्टेरोललाई धकेल्दै कलेजोसम्म लैजान्छ । र, नष्ट गर्न सहयोग गर्छ । त्यसैले, यसलाई असल कोलेस्टेरोल भनिन्छ ।
अवरुद्ध भएपछि उपचार
२० वर्ष पुगेका व्यक्तिले कोलेस्टेरोलको जाँच गराउनुपर्ने हुन्छ । तर, मुटुरोग विशेषज्ञहरूका अनुसार अधिकांश बिरामी खराब कोलेस्टेरोल जमेर रक्तनलीमा प्रवाह रोकिएपछि मात्र अस्पतालको दैलोमा आइपुग्छन् । डा. अनिलका अनुसार उच्च कोलेस्टेरोल लुकेको खतरनाक रोग हो ।
कति दिनदेखि शरीरमा उच्च भएर बसिरहेको थियो भन्नेसमेत अधिकांशले ख्याल गर्दैनन् । यसले मुटुमा कति समस्या गरिरहेको छ भन्नेबारे धेरैले वास्तासमेत गरेका हुँदैनन् । बर्दिया, ठाकुरबाबा ५,वनवीरका एसपी खनाल (३८)भन्छन्, आँखामा समस्या आयो । डाक्टरले भनेपछि लिपिड प्रोफाइल जाँच गराइयो । अहिले बल्ल पो थाहा पाइयो, शरीरमा राम्रो कोलेस्टेरोलको मात्रा त घटिरहेको रहेछ ।’
४० भन्दा बढी हुनुपर्ने एलडीएलको मात्रा उनको शरीरमा ३४ मात्र छ । डा. अनिलका अनुसार कतिपय व्यक्तिलाई आफ्नो मुटुको नलीमा कति प्रतिशत ब्लकेज छ त्योसम्म थाहा हुँदैन । भन्छन्, ‘मुटुको रक्तनली कोरोनरी आर्टरीमा ७० प्रतिशत ब्लकेज भएसम्म कुनै पनि लक्षण नदेखिन सक्छ ।
कसै –कसैलाई त ९० प्रतिशत ब्लकेज भइसक्दा पनि लक्षण देखिँदैन ।’ ५० प्रतिशत ब्लकेज हुँदासम्म त अधिकांशले आफू स्वस्थ नै भइरहेको भ्रममा बाँचिरहेका हुन्छन् । यस्तोमा कोही एकैचोटि छाती दुख्यो भन्दै त कोही हृदयाघात भइसकेपछि मात्र डाक्टरको शरण लिन पुग्छन् ।
हेलचक्र्याइँले समस्या
कोल्ड ड्रिंक्स, काजु, मःमको सेवनले पनि ट्राइग्लेसराइड (चिल्लो पदार्थ)को मात्रा वृद्धि हुने चिकित्सकहरू बताउँछन् । एक सयभन्दा थोरै हुँदा राम्रो मानिने खराब कोलेस्टेरोलको परिमाण कृष्णहरि उपाध्याय (४२)को शरीरमा एक सय ३८ पुगेको छ । दुई सयभन्दा थोरै हुनुपर्ने कुल कोलेस्टेरोलको मात्रा दुई सय ३० पुगेको छ ।
एक सय ५० भन्दा थोरै हुनुपर्ने ट्राइग्लेसराइड पनि दुई सय २४ छ । भन्छन्, ‘राति दूध लिन्थेँ । कोल्ड ड्रिंक्स, काजुजस्ता खाद्यपदार्थ लिँदा केही हुन्न होला भन्ने लाग्याथ्यो । अब त्यो पनि खान नहुने रहेछ । ढिलो पो सजग भइयो ।’ डा. अनिलका अनुसार तनावले पनि राम्रो कोलेस्टेरोललाई खराब कोलेस्टेरोलमा परिणत गर्छ ।
तनावको मुटुसँग निकटको सम्बन्ध हुन्छ । कोलेस्टेरोल उच्च छ भने तनावले झन् खराब गर्छ । हृदयाघातको सम्भावना पनि धेरै हुन्छ । शरीरमा नराम्रो कोलेस्टेरोल र ट्राइग्लेसराइडको परिमाण बढेपछि अधिकांशले औषधि सेवन गर्छन् ।
अन्तर्राष्ट्रियस्तरमा आएका मेडिकल निर्देशिकाहरूमा प्रारम्भिक अवस्थाका बिरामीलाई औषधि दिने सम्बन्धमा एउटै मापदण्ड छैन । तर, खराब कोलेस्टेरोल धेरै लामो समयसम्म उच्च राख्नु राम्रो नहुने र जति कम परिमाणमा राख्न सकियो, त्यति स्वस्थ हुनेमा मुटुरोग विशेषज्ञहरू एकमत देखिन्छन् ।
औषधिको शुरुवात कुन परिस्थितिमा गर्ने भन्ने समान मापदण्ड छैन । डा. अनिलका अनुसार कुनबेला औषधि शुरु गर्ने भनी सबैलाई एउटै मापदण्डले काम गर्दैन । मधुमेह र उच्च रक्तचापको बिरामीलाई फरक रूपमा हेर्नुपर्ने हुन्छ । यी बिरामीहरूमा ७० भन्दा थोरै एलडीएल भए सामान्य रूपमा लिन सकिने डा. अनिल बताउँछन् ।
उमेरअनुसार पनि मुटुरोग विशेषज्ञहरूले औषधि सेवन गर्नुपर्ने वा नपर्ने छनोट गर्छन् । चिल्लो सेवन गर्ने व्यक्तिलाई औषधि सेवन गर्न सल्लाह दिन नमिल्ने मुटुरोग विशेषज्ञहरू बताउँछन् ।
उनी भन्छन्, ‘चिल्लो खानेकुरा नियन्त्रण गर्न सकियो भने औषधिबिना नै खराब कोलेस्टेरोल र ट्राइग्लेसराइड नियन्त्रण गर्न भइहाल्छ । धुम्रपान तथा मद्यपान नगर्ने र वंशाणुगत समस्या पनि छैन भने ‘डाइट’ले पनि घटाउन सकिन्छ । औषधि खानु पर्दैन ।’
खानपानबाट तीनदेखि ६ महिनाभित्र नियन्त्रण नभएमा औषधि सेवन गर्नु उचित हुन्छ । पोषणविद् डा. जया प्रधानका अनुसार यदि दैनिक भोजनमा कम्तीमा १० ग्राम फाइबर छ भने यसले पाँच प्रतिशत खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।
त्यसका लागि जौंको परिकार, गेडागुडी, स्याउ, सुन्तला, गाजर खानामा समावेश गर्नुपर्छ । खराब कोलेस्टेरोल उच्च भएका व्यक्तिलाई कुनबेला औषधि चलाउने भन्ने निकै संवेदनशील विषय भएको मुटुरोग विशेषज्ञहरूको भनाइ छ ।
बिरामीको रक्तचाप, मोटोपना, खानपान, जीवनशैली, वंशाणुगत समस्यालगायत ‘रिस्क फ्याक्टर’हरूको लेखाजोखा गरेर मात्र औषधि सेवन गर्ने/नगर्नेबारे निर्णय लिनुपर्छ । रक्तचापका औषधिको भन्दा कोलेस्टेरोलका औषधिको ‘साइड इफेक्ट’ बढी हुने डा. अनिल बताउँछन् । भन्छन्, ‘कोलेस्टेरोलका औषधिले रक्तप्रवाहमा भएको ब्लकेज रोक्छ । र, हृदयाघात हुने जोखिम घटाउँछ ।’
बिरामीका गल्ती
संसारमा बढी प्रयोग हुने औषधिहरूमा कोलेस्टेरोलका औषधि पनि पर्छन् । यसको साइड इफेक्टका रूपमा कसैलाई मधुमेहको मात्र बढ्ने हुन्छ, कसैलाई मांसपेशीमा दुःखाइको महसुस हुन सक्छ । शुरुवातमै खराब कोलेस्टेरोल १७० आयो भने त्यो तीन÷चार महिनासम्म त रगतमै रहन्छ । त्यसैले औषधि सेवन गरी घटाउनुपर्ने हुन सक्छ ।
अन्यथा हृदयाघातको खतरा हुन सक्छ । औषधि सेवन गर्नेहरूमध्ये अधिकांशले सन्तुलनमा रहेको भन्दै आफूखुशी बीचमै औषधि छोड्ने गर्छन् । कसैले खानपान व्यवस्थापन गरेपछि नर्मल रिपोर्ट आउँछ ।
त्यसलगत्तै बिर्सिने र त्यसपछि पुनः कोलेस्टेरोल बढेको बताउँदै चिकित्सकसमक्ष पुग्ने बिरामीको संख्या बढ्दो छ । डा. अनिल भन्छन्, ‘औषधि सेवनले कोलेस्टेरोलको स्तरलाई घटाइदिएको मात्र हो, रोग निको गराएको होइन ।’
उनका अनुसार एक÷दुई महिनामात्र ‘फुड ह्याबिट’ चेन्ज गर्ने, र फेरि लापरवाही गरी ६ महिनापछि जाँच गर्दा कोलेस्टेरोलको मात्रा उच्च आउँछ । खानाको शैली र लाइफस्टाइलमै परिवर्तन गरे मात्र सन्तुलनमा राख्न सकिनछ ।
चिकित्सकहरूका अनुसार हृदयाघात, मधुमेह र रक्तनलीमा ब्लकेज भएका व्यक्तिलाई जीवनपर्यन्त कोलेस्टेरोलको औषधि खानुपर्ने हुन सक्छ । खानपान, जीवनशैली परिवर्तन गर्दा पनि कोलेस्टेरोल घटेन भने वंशाणुगत कारण जिम्मेवार हुन सक्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार वंशाणुगत समस्याका कारण भएको कोलेस्टेरोल झन् खतरनाक हुन सक्छ । चाँडो रक्तनली ब्लकेज गर्छ ।
कुनै दुई व्यक्तिको एउटै रेन्जमा कोलेस्टेरोल छ र खानपान पनि उस्तै छ भने पनि केही समयपछि कोलेस्टेरोल मापन गर्दा फरक–फरक रिपोर्ट आउन सक्छ । किनकि, व्यक्तिको कोलेस्टेरोल पचाउन सक्ने प्रक्रिया र क्षमता फरक हुन सक्छ । कमजोर क्षमता भएका व्यक्तिले थोरै खाए पनि कोलेस्टेरोल उच्च हुन सक्छ । कुनै व्यक्तिमा कोलेस्टेरोल बढी पचाउने क्षमता पनि हुन सक्छ ।
परीक्षण गर्दा सावधानी
खानपान जीवनशैली, वंशाणुगत समस्या छ भने उच्च कोलेस्टेरोल देखिँदा नै चिकित्सकहरूले औषधि चलाउन सिफारिस गर्न सक्छन् । डा. अनिलका अनुसार औषधि चलाउने/नचलाउने सम्बन्धमा ‘मल्टिपल फ्याक्टर्स’लाई कनेक्सनमा राखेर मात्र निर्णय लिइन्छ । एउटा मात्र कोलेस्टेरोललाई हेरेर औषधिको निर्णय लिइँदैन ।
कोलेस्टेरोलका मुख्य स्रोत भनेकै खाना हो । कसरत गर्यो भने खराब कोलेस्टेरोल र ट्राइग्लेसराइड थोरै घट्छ । त्यसैले मुख्य रूपमा खानपानले नै कोलेस्टेरोल घटाउने हो । कसरतले रक्तचाप घटाउन सहयोग पुर्याउँछ ।
ट्राइग्लेसराइड बढेर उच्च २४० पुगेर हाल घटाउन सफल एक बिरामी भन्छन्, ‘भातको सट्टा रोटी खान थालेँ । दूध खान छाडेँ । बाहिर खान छाडेँ । मिठाइलगायत गुलियो खानामा नियन्त्रण गरेँ । अहिले टाइग्लेसराइड १५० भन्दा बढी हुँदैन ।’ ३० वर्षीया महिलाले चिल्लो तथा गुलियो जति पचाउन सक्छिन, त्यही क्षमता पुरुषमा हुँदैन ।
कोलेस्टेरोल महिलामा उच्च हुँदैन । महिलामा हुने स्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनले कोलेस्टेरोल पचाउन सहयोग गर्छ । कोलेस्टेरोल बढ्न दिँदैन । त्यसैले ४५ वर्षभन्दा कम उमेरका महिलालाई मुटुरोग लाग्ने जोखिम थोरै हुने मुटुरोग विशेषज्ञहरू बताउँछन् ।