काठमाडौं – नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले स्थानीय चुनावका समयमा ताप्लेजुङको खोक्लिङमा भएको हत्याका विषयमा गम्भिर अनुसन्धान गर्न गृहमन्त्री समक्ष आग्रह गरेका छन् ।
मंगलबार ताप्लेजुङबाट काठमाडौं आएका प्रतिनिधिसहित गृहमन्त्रालय पुगेका भट्टराईले मिक्वाखोला गाउँपालिका १ का स्थानीय बिमल कार्कीको बैशाख २८ गते राती खोक्लिङको दुङ्जामा हत्या भएको तर, अनुसन्धान फितलो भएको भन्दै आपत्ती जनाए ।
उनले गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल दोषी पक्राउ गरी कारबाही गर्न माग समेत गरे । ‘मृतक एमाले समर्थक भएको र निर्वाचनका समयमा मतदान गर्न गाउँ जानेक्रममा हत्या गरी फालेको अवस्थामा उनको शव भेटिएको छ,’ भट्टराईले पत्र बुझाउँदै गृहमन्त्री खाँणलाई भने, ‘दोषी उम्कनु भएन । मृतकको परिवारले राहत महसुस गर्ने गरी सरकारले न्याय दिनुप¥यो ।’
युवक कार्कीको हत्यापछि गाउँमा त्रास फैलिएको भन्दै नेता भट्टराईले राजनीतिक उदेश्यबाट प्रेरित घटनाको गम्भिर छानविन र अनुसन्धान हुनुपर्ने माग गरे । भने, ‘उनको हत्यापछिका अन्य घटनाले पनि छानविन फितलो होला भन्ने चिन्ता जिल्लाबासीमा छ । उनको शव पोष्टमाटम गर्ने समयमा पनि जिल्ला अस्पतालका डाक्टरले गरेको व्यवहारले चकित बनाएको छ ।’
शवको पोस्टमाटम गर्न जिल्ला अस्पताल ताप्लेजुङ पु¥याउँदा डाक्टरले एमाले कार्यकर्ताको शवको पोष्टमाटम नगर्ने भनेपछि पोष्टमाटम नै रोकिएको थियो । एमालेका नेता कार्यकर्ताले पनि डाक्टरलाई फोनबाट पोस्टमाटम गर्न आग्रह गर्दा एमाले कार्यकर्ताको त नगर्ने भन्ने जवाफ दिएको फोन रेकर्ड पनि सुरक्षित रहेको नेता भट्टराई बताउँछन् । उनले यो विषयमा पनि सरकारले अनुसन्धान गर्नुपर्ने माग गरे । २८ गते हत्या भएका कार्कीको शवको जेठ १ गते मात्रै पोस्टमाटम भएको थियो ।