Lite Nepal

शनिबार, पौष २३, २०७९

काठमाडौं – सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ। सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा छानबिन र अनुसन्धान गरी भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाल समाजमा स्थापित गराउने जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गरिने सरकारले जनाएको छ। सरल र सहज सार्वजनिक सेवाको प्रबन्ध गर्न सेवाग्राहीलाई लाइनको सस्तीबाट मुक्त गराउन सबै सरकारी सेवामा टाइम कार्ड प्रणाली लागू गर्ने सरकारको कार्यक्रम छ।

सरकारले पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिने पनि मस्यौदामा उल्लेख छ। मस्यौदाअनुसार ‘सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने, कोही भौकै पर्दैन, भोकले कोही मर्दैैनको अवधारण लागू गर्न कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गरिनेछ। महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक १ हजार ५ सय उपलब्ध गराउने पनि मस्यौदामा उल्लेख छ।

पाँच वर्षको अवधिमा श्रमिकको ज्याला न्यूनतम २५ हजार पुर्‍याइने बताइएको छ। ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्ने लक्ष्य सरकारको छ। श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवं असल औद्योगिक श्रम सम्बन्धलाई श्रम नीतिका आधारभूत मान्यताका रूपमा स्थापित गर्ने सरकारले योजना छ।

  • पुराना भ्रष्टाचारका फाइल खोल्ने
  • पृथ्वी जयन्ती पुस २७ गते सार्वजनिक बिदा दिने
  • न्यायपालिकाको सुधारमा अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन
  • सरकारी सेवामा टाइम कार्ड लागू गर्ने
  • महिनावारीको लागि १५ सय दिने

हरेक जिल्ला सदरमुकामलाई रणनीतिक सडक सञ्जाल जोड्ने र दुई वर्षभित्र सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक निर्माण गरिनेछ। रेल, जलमार्ग र हवाई सबै योजनालाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार पारिनेछ। नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनकि बिदा दिइनेछ। नीतिगत र संरचनागत सुधारमा सरकारले ध्यान दिनेछ। अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी त्यसको सुझावको आधारमा न्यायपालिकाको सुधार गर्ने मस्यौदामा उल्लेख छ। सार्वजनिक खरिद ऐन, नागरिकसम्बन्धी ऐन, संघीय निजामती सेवा ऐनलगायतका ऐनलाई समायानुकूल बनाइनेछ।

सरकारले वर्षायाममा मासिक ५० र हिउँदमा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने भएको छ। दुई वर्षभित्र सुकुम्बासी समस्या सम्बोधन उल्लेख छ। सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासी समस्या दुई वर्षभित्र समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गर्ने गरिनेछ। स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै लैजाने र राष्ट्रिय पुँजीको विकास गर्न ‘मेक इन् नेपाल’ अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य छ।

सरकारले शनिबार यो न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वको साझा न्यूनतम कार्यक्रम तयार पार्न समेतको समितिमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राप्रपाका महामन्त्री डा.धवलशमशेर राणा, रास्वपाका प्रवक्ता मुकुल ढकाल, जसपाका रकम चेम्जोङलगायत छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा