Lite Nepal

मंगलबार, चैत्र २८, २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ ।

दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।

आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भन्छन्, ‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ….दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु पर्‍यो यो कुरालाई ।’

त्यसपछि प्रसाईंले यसमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् ।

त्यसपछि ढाका कुमारको भाइ बताउने व्यक्तिले भन्छन्, ‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’

प्रसाईं भन्छन्- म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’

आफूलाई ढाका कुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।

कपुरबोट डटकमको युट्युब च्यानलबाट सार्वजनिक भएको यो सम्वादमा आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई गरेको फोनको नम्बर नै देखाइएको छ ।

साथै अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि यदु गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरेका छन् । मध्यस्थताको अपेक्षा गर्दै गौतमलाई फोन गर्ने व्यक्ति ढाका कुमार श्रेष्ठ भएको दाबी कपुरबोटले गरेको छ ।

यसअघिको अडियोमा ढाका कुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको कुराकानी छ । उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।

ढाका कुमारले भने त्यो अभिव्यक्ति आफ्नो नभएको भन्दै अडियो सम्पादन गरिएको र आफूलाई फसाउन खोजिएको जिकीर गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा