काठमाडौं । मुलुकभर आज (बुधबार) सहिद दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।
देशभर विविध कार्यक्रम गरेर सहिदको सम्मानमा दिवस मनाइन्छ । विक्रम संवत २००७ मा प्रजातन्त्र प्राप्त भएपछि दिवस मनाउन थालिएको हो । सहिदकै बलिदानीका कारण मुलुकमा प्रजातन्त्र स्थापन भएको थियो ।
सहिदका सपना पूरा गर्नेतर्फ भने राजनीतिक दलहरुले ध्यान दिइरहेका छैनन् । प्रतिबद्धता भने निरन्तर गरिरहन्छन् । माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह नै घोषणा गरेर विविध कार्यक्रमहरु भइरहेका छन् ।
स्वतन्त्रताको माग गर्ने योद्धाहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई राणा शासकले मृत्युदण्ड दिएका थिए । शास्त्रीलाई लाई विक्रम संवत १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माथेमालाई माघ १३ गते सिफलमा र श्रेष्ठ एवं चन्दलाई माघ १५ गते शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो ।
ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न सहिद दिवसका अवसर पारेर आज विभिन्न ठाउँमा प्रभातफेरिलगायतका कार्यक्रम आयोजना गरिँदै छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि काठमाडौंमा निकालिने छ ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ ।
सहिद गेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राख्ने घोषणा गरिएको छ ।
स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने छ ।