खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।
नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उनले भनिन्, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ ।”
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार–पाँच महिना बसेर ध्यान गर्ने गरेका छन् ।
त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन् । यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि विश्वप्रसिद्ध हलेसीमा ठुल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठिक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।
उसो त यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाको प्राकृतिक सौन्दर्यताको वर्णन मात्र हो । दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । शिवपार्वतीको पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । जिल्लाबाट तराईसँगको सिधा यातायात सुरू भएसँगै हलेसी आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकको भीड लाग्न थालेको हो ।
सडक नपुगेसम्म लामीडाँडा विमानस्थलको अर्को विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहज रूपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् ।
तीन ठूला प्राकृतिक गुफाको अवलोकलन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जीप यात्रापछि हलेसी पुग्न सकिन्छ । तराईका विभिन्न जिल्लाबाट उदयपुर–ओखलढुङ्गाअन्तर्गतको सिद्धिचरण राजमार्ग हुँदै पनि हलेसी आउन सकिन्छ । यीबाहेक लामीडाँडा र खानीडाडाँ विमानस्थलमा ओर्लिएर केही घण्टाको बस तथा जीप यात्रापछि पनि हलेसी पुग्न सकिन्छ । हलेसी गुफाभित्र शिवपार्वतीको मन्दिरसँगै धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार छन् । जहाँ छिरे पाप नष्ट हुने, धर्म कमाइने आदि जनविश्वास छ ।
उत्पत्तिको सवालमा हलेसी
हलेसी गुफाका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । यसलाई किरातीले आफ्नो आदिम भूमि, बौद्ध धर्मालम्बीले दोस्रो लुम्बिनी र हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति भन्ने गर्छन् । एउटा किंवदन्तीअनुसार किराती राजा बाँघवंशी सिकार खेल्ने क्रममा विसं १८२० तिर मृग खेद्दै गर्दा आफ्नो कुकुर हराउँछ ।
कुकुरको खोजी गर्दा उनले कुकुरको आवाज गुफाभित्र सुन्छ । गुफाभित्र लहराको साहारामा पस्दा चमकदार शिवलिङ्ग भेटिन्छ । त्यसपछि, महादेवका रूपमा मानिदै आएको मानिन्छ । हिन्दू धर्मको किंवदन्तीअनुसार भष्मासुर नामक राक्षस पार्वती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । त्यसपछि, वरदान दिने क्रममा भस्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि शिवपार्वती गुफाभित्र पसेका थिए । भष्मेश्वर पनि त्यही पस्छ । तर, विष्णुले पुनः जाल रची भष्मासुरलाई नै भष्म बनाइदिएपछि, शिवपार्वती त्यही विराजमान भएको किंवदन्ती छ ।
बौद्धमार्गीहरूको धर्मग्रन्थमा बौद्ध धर्मगुरू पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको हुँदा मारातिका गुम्बाको समेत स्थापना गरी महत्त्वपूर्ण स्थानका रूपमा उल्लेख गरेको पाइन्छ । यस धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको मनोरम गुफालाई बौद्ध धर्मावलम्बीले उच्च सम्मान व्यक्त गर्दै हजारौँ देशीविदेशी पर्यटक आउने गरेका छन् ।
गुफाभित्र किराती बस्ने गरेको पनि किंवदन्ती छ । तीन ठूला प्राकृतिक गुफा रहेको हलेसीमा विभिन्न देवीदेवताका मूर्ति छन् । शिवपार्वतीको मन्दिर रहेको गुफा चार सय ४३ मिटर लामो तथा एक सय मिटर गहिराइभित्र पर्छ । शिवपार्वतीको मन्दिर ठिक पछाडि एक सय २० मिटर अग्लो बसाहा गुफा छ । उत्रै ठूलो भैरव गुफा पनि छ । तीनै गुफा गोलाकार छन् ।
हलेसीमा कहिले कुन मेला
यहाँ चैतमा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । मेला भर्न नेपालका सबै जिल्लाका साथै अन्य देश भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिकालगायतबाट भक्तजन आउने गरेका छन् । मेलाका अवसरमा अर्बौँको कारोबार हुने उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । मेलामा देशी तथा विदेशी व्यापारीसमेत आ–आफ्नो व्यापार–व्यवसाय लिएर हलेसी आउने गरेका छन् ।
सरकारको नजरमा हलेसीमा
हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा विकास गर्न सरकारले विसं २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो । हलेसी आउने तीर्थयात्री तथा पर्यटकलाई बस्ने, खाने र दर्शन एवं अवलोकनका लागि सहज वातावरण बनाउनेतर्फ केन्द्रित भएर कार्यक्रम सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशको एउटा मुख्य आर्थिक स्रोत मानिएको धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई सरकारले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । तर, कार्यान्वयन प्रक्रिया फितलो भएको स्थानीयवासीको गुनासो छ । स्थानीय सरकारले हलेसीको चौतर्फी विकासमा सहयोग उपलब्ध गराउँदै आएको छ ।
भौतिक पूर्वाधार विकासमा हलेसी
बाह्रै महिना उत्तिकै मात्रामा दर्शनार्थी र पर्यटकको चहलपहल रहने हलेसी गुठी संस्थान, विकास समिति र मन्दिर व्यवस्थापन समितिको लगानीमा प्रवेशद्धार, सिँढी, हवन कुण्डलगायत भौतिक पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको लगानीमा मन्दिरको प्राङ्गणमा ब्लक बिछ्याइएको छ । मन्दिर व्यवस्थापन समितिको लगानीमा डोरामाला बिक्रीवितरण गर्ने टहरा निर्माण गरिएको छ । यसअघि जथाभावी राखेर बिक्री गरिँदै आएको डोरामालालाई व्यवस्थित गर्न टहरा निर्माण गरिएको हो ।
लामो समयअघिदेखि मन्दिरभित्र बालिने सिन्केधुपलाई व्यवस्थित गर्न नगरपालिकाले मुख्य प्रवेशद्वारको बाहिरपट्टि बाल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाकै लगानीमा मन्दिर परिक्रमा गरिने पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नति गरिएको छ । नेपाल आयल निगम र नगरपालिकाको साझेदारीमा सुरू गरिएको धर्मशाला निर्माणाधीन अवस्थामा छ ।
व्यवस्थापनको क्षेत्रमा हलेसी
विश्वमै नभएको हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा पछिल्लो समय होटल तथा व्यापार–व्यवसाय फस्टाउँदै गएको छ । हलेसीबजार आसपासमा सुविधासम्पन्न होटल तथा रेष्टुराँ धमाधम खुल्न थालेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा पछिल्लो समय करिब पाँच सय जना पर्यटक अटाउने होटल खोलिएका छन् । हलेसीमा खोलिएका होटल तथा रेष्टुराँलाई व्यवस्थित गर्न नगरपालिकाले समेत चासो दिएको छ ।
हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई सहज रूपमा खानेपानी तथा नुहाउने व्यवस्था मिलाउन पानीको व्यवस्था मिलाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा लोचाखोला खानेपानी आयोजना तथा सोही स्थानमा सञ्चालन गरिएको डिपवोरिङमार्फत पानीको व्यवस्था मिलाइएको छ ।
हलेसीको भावी योजना
हलेसीको भावी योजनाअन्तर्गत हलेसी गुरूयोजना निर्माणको काम थालिएको छ । पछिल्लो समय स्थानीयवासीको अतिक्रमणमा पर्दै गएको हलेसीको समग्र विकासका लागि गुरूयोजना निर्माण थालिएको हो । संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरूयोजना निर्माण सुरू गरिएको जनाइएको छ । गुरूयोजना निर्माणका लागि विभागबाट भूगर्भविद्को टोली झिकाएर सर्वेक्षणको काम सम्पन्न गरिएको छ ।