उपचार भने सरकारले गर्दै
सुनसरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै पहिचानवादी समूहले गरेको आन्दोलनमा घाइते भएकाहरूको काठमाडौंमा उपचार हुँदैछ । उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय समेत गरेको छ । तर, तिनै घाइतेको उपचारका नाममा धरानमा मनमानी आर्थिक सङ्कलन भइरहेको खुलेको छ ।
धरानका नगर प्रमुख हर्कराज राईको श्रम अभियानमा आर्थिक सङ्कलनकर्तासमेत रहेकी मिना सिंघकले घाइतेको उपचारका लागि खर्च चाहियो भन्दै आर्थिक सङ्कलन गरिरहेकी हुन् ।
उनले दैनिक आर्थिक सहयोग सङ्कलन गर्ने र सहयोग दिनेको नाम र फोटो उनको सामाजिक सञ्जाल फेसबुकमा राख्ने गरेकी छिन् । यसरी उनले मनोमानी रूपमा रकम सङ्कलन गरेको नै प्रष्ट देखिन्छ ।
गृहमन्त्री रमेश लेखकले यसअघि नै आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारी र प्रहरी सबैको उपचार सरकारले निःशुल्क गर्ने निर्णय गरिसकेको र उपचारमा कुनै रकम व्यक्तिगत रुपमा खर्च गर्नुनपर्ने बताइसकेका छन् ।
यता उपचारका नाममा रकम उठाइरहेकी सिंघक भने ‘हरेक कुराको हिसाब खोज्नु हुन्न’ भन्ने उत्तर दिन्छिन् ।
सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको थियो ।