ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङको पाथीभरामा निर्माण सुरु भएको केबलकारको विरोधमा घोषणा गरेको आमहड्ताल फिर्ता लिएको आन्दोलनरत पक्षको एक समूह मुक्कुमलुङ संघर्ष सहयोग समिति, पाँचथरले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तर, घोषित यातायात बन्दका कार्यक्रम भने जारी नै रहेको जनाएको हो । विज्ञप्तिमा समितिका संयोजक कमल हाङसरुम्बाले हस्ताक्षर गरेका छन् । उनीद्वारा जारी विज्ञप्तिमा मङ्गलबार विहानको राती ताप्लेजुङ पाँचथर सडक खण्ड अन्तर्गत गोपेटार–जोरपोखरी क्षेत्रको सडकमा रुख काटेर बाटो अवरोध गर्ने कार्य बन्दकर्ताले नगरेको पनि उल्लेख गरिएको छ । भनिएको छ, ‘हामी शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा हिजो राती हिलिहाङ गाउँपालिका स्थित पामा वरक (जोरपोखरी) नजिक रूख ढाली बाटो अवरोध गरिएको भन्ने सामाजिक सञ्जालमार्फत थाहा हुन आएकोले यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । निहत्था जनतामाथि निर्मम दमनमा उत्रेको सरकारले आफै सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने हाम्रो ठम्याई रहेको छ ।’