Lite Nepal

मंगलबार, माघ २२, २०८१

विराटनगर । पाथीभरामा केबलकार निर्माणमा अवरोध हुनु उचित नभएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । पूर्वाधारको कमीका कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको बेला यसरी विकासकाे अवराेध हुनु उचित नभएकाे महासंघकाे ठहर छ ।

यसाे हुँदा लगानीकर्तामाझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने भएकाले यस्तो अवरोध तथा क्रियाकलापले ताप्लेजुङ एवं समग्र प्रदेशको हित नगर्ने निष्कर्ष महासंघले निकालेको छ । कोशी प्रदेशको प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण सुरु भएपछि पहिचान पक्षधरले विरोध गरिरहेका छन् । केबलकारको विरोधमा यातायात बन्द गरिएको छ ।

धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको पूर्वाधार पाथीभारा केबलकार निर्माण अघि बढाउने सन्दर्भमा विवाद देखिएको महासंघले जनाएको छ । महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले मंगलबार एक विज्ञप्ति जारी गर्दै केबलकार निर्माणको विषयलाई लिएर केही दिनदेखि भइरहेका गतिविधिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सरकार र गैरसरकारी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार हुन नसक्नुमा पर्यटकीय पूर्वाधारको कमीलाई प्रमुख कारणका रुपमा औंल्याएको विदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधारको कमीले पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको अहिलेको अवस्थामा केबलकार निर्माणमा लगानी सुनिश्चित गरी आवश्यक सबै प्रक्रियासमेत पूरा भइ काम अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित होइन ।’

पाथीभरा मन्दिरको दर्शनका लागि आन्तरिकबाहेक वार्षिक लाखौं भारतीय पर्यटकलाई भित्राउन कोशेढुंगा सावित हुनसक्ने केबलकार निर्माणमा अवरोध हुनुले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित नगर्ने राउतले बताए ।

‘हामीले लगानीका लागि बाह्य लगानीकर्ताहरूलाई अपिल गरिरहेको अवस्थामा देशभित्रकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित हुँदैन । प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नु पर्दछ । यसका लागि निजी क्षेत्रको मनोबल बढाउनु जरुरी छ । कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा यस्ता क्रियाकलाप हुँदा लगानीकर्तामाझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ ।

धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्वपूर्ण आधारशीला खडा गरेको भन्दै महासंघले हरेक धर्म संस्कृति रीतिरिवाजको प्रवर्धन, संरक्षण र सम्प्रवर्धनमा निजी क्षेत्र संवेदनशील रहेको उल्लेख गरेको छ । अहिले देखिएको विवाद र अवरोधलाई वार्ता एवं संवादको माध्यमद्वारा समाधान गर्न राउतले अपिल गरेका छन् । साथै, सम्पूर्ण सरोकारवालाहरूलाई संयम बनेर समस्या समाधानको लागि आग्रह गरेका छन् ।

सरकार, निजी क्षेत्र र समुदायको सामूहिक प्रयासबाट मात्र दिगो आर्थिक विकास सम्भव हुने उनले बताए । पूर्वाधार निर्माणलागयतका विकासमूलक कार्यमा स्थानीयको सहभागिताको विधि अवलम्बन गर्ने गरिएको राउतको भनाइ छ । विकासको प्रतिफलमा सम्बन्धित क्षेत्रका स्थानीयबासीको महत्वपूर्ण हिस्सा हुनुपर्ने मान्यतालाई यस आयोजना (केबलकार)ले पनि स्वीकार गरेको उनले बताए ।

स्थानीय, भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवर्धन गर्ने तथा स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विषयमा अस्पष्टता रहेको भए वार्ता र संवादबाट त्यसको निरुपण गरी आयोजना निर्माणको कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्दोलनरत पक्षसँग राउतले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा