ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा ताप्लेजुङका जनप्रतिनिधि र स्थानीय एकजुट भएका छन् । उनीहरूले केबलकार निर्माणले पहिचान, धर्म, संस्कार र संस्कृतिमा कुनै असर नगर्ने बरु यसले जिल्लालाई समृद्ध बनाउने बताए ।
सोमबार बिहान फुङलिङ नगरपालिकाले सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित मेयर, वडाध्यक्ष, जिल्लाका बुद्धीजिवी र स्थानीयले केबलकार निर्माणमा ‘जिल्लावासीको विरोध छ’ भनेर भ्रम फैलाएकोमा आपत्ती जनाए ।
उनीहरूले केबलकार निर्माणको पक्षमा जिल्लावासी सँधै रहेको र जिल्लावासीले विरोध गरे भन्ने खालको भ्रम नफैलाउन आग्रह पनि गरे ।
पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसहित सबै वडाका वडाअध्यक्षले ‘नो केबलकार समूह’मा जिल्ला बाहिरका निश्चित व्यक्तिहरूको संलग्नता रहेको र उनीहरूले ताप्लेजुङको विकास नचाहेको दाबी । उनीहरूकै कारण जिल्ला अशान्त बन्दै गएको र यो कुरा सबै देश विदेशमा रहने नागरिकले बुझ्नुपर्ने पनि बताए ।
केबलकारको पक्षमा धेरै वर्ष अघिबाट नै जिल्लाका नागरिक थिए । अहिले यो योजना अघि बढेको छ । यो स्थानमा के गर्न हुने, के नहुने सोचेर नगरपालिकाले अनुमति दिएको हो । केबलकार बनेपछि पाथीभराको महिमाको प्रचार हुन्छ । जिल्लाको समृद्धि हुन्छ,’ सबै जनप्रतिनिधिको एकै स्वर थियो ।
ताप्लेजुङको विकासका विषयमा देश विदेशबाट चासो राख्नु सकरात्मक भए पनि केबलकारको विषयमा भ्रम फैलाएकोमा नगरपालिकाको ध्यानाकर्षण भएको मेयर मादेनले बताए । ‘केबलकारका विषयमा जुन जुन भ्रम फैलाइएको छ । ती सबै गलत हुन् । ताप्लेजुङका नागरिक केबलकारको सँधै पक्षमा छन् । र, केबलकार यहाँको आवश्यकता नै हो,’ उनले भने ।