काठमाडौं । वातावरण जोगाउने र यात्रालाई सहजका साथै सुरक्षित बनाउने भएकाले पछिल्लो समय नेपालमा केबलकार निर्माणको लहर बढेको छ । अहिले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थलमा केबलकार निर्माण भइरहेको छ । कामले गति लिएको छ ।
राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ७ वटा केबलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माण सम्पन्न भई परीक्षणकालमा छन् । अरु ६ वटा केबलकार निर्माणको तयारीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
सञ्चालनमा आइसकेका ७ केबलकारमा १८ अर्ब बढी लगानी भएको छ । मनकामना, चन्द्रागिरि, अन्नपूर्ण, कालिञ्चोक, मौलाकाली, बन्दीपुर र लुम्बिनी केबलकार सञ्चालनमा आइसकेका छन् ।
चन्द्रागिरिमा रिसोर्टसहितको केबलकार सञ्चालनमा आइसकेको छ भने अन्य स्थानमा केबलकार सञ्चालनमा आए पनि रिसोर्ट निर्माणकै क्रममा छन् ।
मनकामना केबलकारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबाबु श्रेष्ठले केबलकार बन्नुले एउटा कम्पनीको व्यवसाय बढ्नु मात्रै नभई स्थानीयको व्यवसाय र पर्यटनमा समेत टेवा पुगेको बताए ।
‘केबलकार बनेपछि मान्छेको चहलपहल बढ्छ, त्यहाँ विकासका कामहरु हुन्छन्,’ उनले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि केबलकार सञ्चालनमा ल्याइएको हो । मठमन्दिरमा पनि आवतजावत सहज हुन्छ ।’
डुम्रे –बन्दीपुरको १ दशमलव ७ किलोमिटर लामो केबलकार परीक्षणकाल सकेर पूर्ण रुपमा सञ्चालनमा रहेको छ ।
बुटवल–पाल्पा नुवाकोटमा १ अर्ब लगानीको रिसोर्टसहितको सिद्धार्थ केबलकार निर्माण भएको छ । केबलकारबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै आर्थिक गतिविधि चलायमान गर्न मद्दत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
केवलकार सञ्चालन भएको स्थलमा साना होटलदेखि ठूला रिसोर्टहरु पनि स्थापना हुने तथा स्थानीय उत्पादन प्रवद्र्धनमा मद्दत पुग्नेछ । त्यस्तै सडक, बिजुली, खानेपानीलगायतको सुविधामा विस्तार हुने तथा विकट ठाउँमा रहेका पौराणिक मठमन्दिरमा पहुँच पुग्ने प्रतिवेदनमा उल्लेख छ । धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटनको विस्तारका लागि केबलकारको निर्माण बढ्दै गएको हो ।