ताप्लेजुङ । ताप्लेजुङका समाजसेवी तथा जिल्लाको विकास र केबलकारको पक्षमा बोल्दै आएका पदम चेन्जी माबोले विकास र केबलकारको पक्षमा बोल्दा मोसो मात्रै नभई ज्यानै थाप्न तयार रहेको बताएका छन् ।
ताप्लेजुङ सदरमुकाममा मङ्गलबार निकालिएको सद्भाव र्यालीलाई सम्बोधन गर्दै उनले आफूले विकासको पक्षमा बोल्दा कालोमोसो दलिनु परेको र जिल्लाको विकासका लागि बोल्दा आफूलाई भन्दा जिल्लालाई नै फाइदा हुने भएकाले घाँटी नै थाप्न पनि तयार रहेको बताए ।
‘केबलकारका लागि ज्यान दिन तयार छु । किनकी केबलकारसँग जिल्लावासीको भाग्य र भविष्य जोडिएको छ । जसरी भए पनि बनाउनै पर्छ । यसका लागि म कालो मोसो मात्रै होइन घाँटी थाप्न पनि तयार छु,’ उनले भने ।
केबलकारको पक्षमा निकालिएको र्यालीमा सहभागीले उनलाई मन्तव्य राख्नु अघि खादा र अविर लगाएर सम्मान समेत गरे थिए । लगत्तै मन्तव्य सुरु गरेका माबोले सुरुमा नै भने, ‘यस केबलकार । यस केबलकार । यस केबलकार ।’ माबोले ‘यस केबलकार’ भन्दा सहभागीले स्वर मिलाएर ‘यस केबलकार’ भन्दै साथ दिएका थिए ।
नगरप्रमूख अमिर मादेन, निर्माण व्यवसायी इन्द्र केदेम लगायत सहभागीले खादा लगाउँदा नौमती बाजा समेत बजाएर उनको हौसला बढाइएको थियो ।
फुङलिङ नगरपालिका नगरप्रमुख अमिर मादेनले केबलकारको विपक्षमा रहेकाले पदयात्रा गर्ने तयारी गरेको भन्दै शुभकामना दिए । ‘पदयात्रा गर्न बाहिरबाट आएको थाहा छ । आशा छ, हिडे पछिको सास्ती पश्चात केबलकार चाहिन्छ नै भन्नुहुनेछ ।’
स्थानीय मीना गुरुङले अशक्तले पनि माताको दर्शन गर्न पाउनुपर्ने बताउँदै जिल्लाको लागि केबलकार आवश्यक रहेको उल्लेख गरिन् । मङ्गलबार बिहान सामुदायिक हलबाट निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो ।