समाचार टिप्पणी
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतो अहिले हिमाली जिल्ला ताप्लेजुङमा छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बन्न उनी ताप्लेजुङ पुगेका हुन् । तर, उनको यो पदयात्रालाई ताप्लेजुङका नागरिकले विभिन्न कोणबाट नियालेका छन् र, शङ्काको घेरामा राखेका छन् । उनीहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्, ‘पहिले मधेस आन्दोलन गरेर मधेसमा समाज भाँडेका राजेन्द्र अब पहाड र हिमालको एकता पनि भाँड्न ताप्लेजुङ उक्लिए ।’
हुन त उनको स्वभाव नै यस्तै छ । जहाँ जहाँ समाज भड्कने आन्दोलन सुरु हुन्छ उनी त्यहाँको आगोमा घिउ थप्न पुगिहाल्छन् । केही दिन अघि ‘नो केबलकार समूह’ले काठमाडौंमा आयोजना गरेको आन्दोलनका कार्यक्रममा उनी पुगेर मिसिए, अनि भने ‘लिम्बूहरू एक्लै छैनन्, मधेसको साथ छ ।’ तर, उनले ताप्लेजुङको अवस्था नबुझी काठमाडौंमा बोले । किनकी, ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा छन् । विपक्षमा बोल्ने कम भएपछि जिल्लाबाहिरबाट खोजेर ताप्लेजुङ लगेर आन्दोलन र पदयात्रा गर्नुपर्ने ‘नो केबलकार समूह’को वाध्यता उस्तै छ ।
को हुन् राजेन्द्र महतो ?
महतो राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष हुनुपूर्व बहुल राष्ट्र निर्माणका लागि भन्दै गठन गरिएको राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक थिए । उनलाई कट्टर मधेसी नेताको रूपमा चिन्ने गरिन्थ्यो । उनको भाषा, पहिरनले पनि उनी खाँटी मधेसीमा गनिन्छन् ।
मधेसमा पटक पटक भएका आन्दोलनका अगुवाइ गरेका राजेन्द्र महतो अन्य मधेसी नेताको तुलनामा पहाडप्रति बढी नै आक्रामक थिए । चाहे नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिंहका साथमा रहेर आन्दोलन गरेको अवस्था होस् या आफ्नै नेतृत्वमा गठन गरेको सद्भावना पार्टीबाट गरेको आन्दोलन होस्, हरेक आन्दोलनमा उनी पहाडप्रति आक्रामक देखिन्थे । त्यही भएर उनलाई पहाडले खासै रुचाउँदैनथ्यो । अहिले पनि पहाडका नागरिकमा यहीँ छाप छ । किनकी उनका हरेक गतिविधि शङ्कास्पद छ ।
राजनीतिमा फस्टाउन नसकेका राजेन्द्र महतो जता आन्दोलनको स्वर सुनिन्छ, उतै पुगेर उनी पनि कराउँछन् । केही स्वार्थ लिन्छन् र हराउँछन् । आन्दोलनकारीलाई सकेजति प्रयोग गर्छन् । उनको यो क्रम लामो समय देखि चलिरहेको छ । प्रष्ट भन्दा उनी नेपालमा अस्थिरता चाहन्छन् ।
मधेश आन्दोलनका शहीदका परिवारजनलाई ५० लाख रुपैयाँ दिने भनेर नागरिकलाई उचाल्ने हचुवा अभिव्यक्तिबाट पनि उनी अझै आलोचित छन् । जबकि तीनवटा मधेश आन्दोलनमा १ सय २३ जनाको मृत्यु भयो । मधेश आन्दोलनका शहीद परिवारले राहत नपाएको गुनासो अझै गर्दै आएका छन् ।
महतोले भनेजस्तै शहीदका परिवारले ५० लाख पाउनुपर्ने दाबी गर्दै आएका छन् । संविधानको विरोधमा भएको लामो आन्दोलन पनि बिनाकुनै ठोस सहमति मत्थर हुनुमा नेता महतोको दोष रहेको जानकारहरू बताउँछन् । अहिले उनी ताप्लेजुङको विकासको आधार बनेको केबलकारको बिरोध गर्न सुराल सुर्किएर ताप्लेजुङ पुगेका छन् । उनले हात हालेका विषय कहाँ राम्रा थिए ? र, सफल बनाएर उदाहरण दिए ? प्रश्न अझै छ ।
मधेसमा समाज भाडेर छिन्न भिन्न
पहाडबाट झरेर मधेसमा बसेका नागरिक धेरै छन् । सबै जात जाती मिलेर बनेको समाज मजबुत् थियो । दुःख, सुखमा साथ एकले अर्काको दिन्थे । तर, जब राजेन्द्र महतोको नेतृत्वमा मधेश आन्दोलन भयो, मधेसबाट पहाडी मुलका नागरिकलाई आतंकित पारियो । धेरै बसाइँ सरे । समाज छिन्नभिन्न भयो । मधेसका नागरिक मात्रै रहने अवस्था आयो । त्यसको असर विस्तारै देखिन थाल्यो । आन्दोलन सकिएपछि फर्केर हेर्दा मधेसका भौतिक मात्रै होइन, मानसिक संरचना नै बिग्रिएको भेटियो ।
त्यसपछि समाजमा विकृतिहरू देखा पर्न थाले । चेरी, डकैती, लुटपाट र बलात्कारका घटना बढे । समाज भाडिएको थियो । त्यो महसुस बन्न त्यहाँका नागरिकले गर्न थालेका छन् । अहिले ‘समाज भाडिनु हुँदैन, मिसिएर बसेको समाज नै मजबुत हुनेरहेछ’ भनिरहेका छन् मधेसका नागरिक । त्यसैले ताप्लेजुङका नागरिकले पनि बुझ्न आवश्यक छ । महतो ताप्लेजुङ पुगेका छन् पाथीभरा माताले सद्बुद्धि दिउन् ।