Lite Nepal

मंगलबार, फाल्गुण २७, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न तल्लो फेदीबाट उकालो चढ्दै गरेको अवस्थामा भेटिए झापा अर्जुनधारा–८ का ७८ वर्षीय रामप्रसाद थापा । उनी २० वर्षपछि पाथीभरा देवीको दर्शन गर्न जाँदैथिए । ‘अब त बृद्ध भैएछ, देवीको दर्शन गर्न त मन लाग्छ । तर, यो उकालो चढ्न त धेरै गाह्रो नै छ,’ उनले भने, ‘केबलकार बन्न सुरु गरेको सुनेको छु । यो बने त वर्षमा एकपटक दर्शन गर्न आउँछु ।’

थापाको लयमा साथ दिँदै गरेकी श्रीमती दिव्यामायाँले थपिन्, ‘केबलकारको विरोध किन गरेका होलान् ? हामी जस्ता हिड्न नसक्नेहरूको लागि पनि त यात्राको साधन चाहियो नि । हिड्न सक्ने त ठम–ठम जान्छन् । यात्राको साधन केबलकारले त सबैलाई सहज बनाउँछ नि । मलाई त कसैको पिठ्यूँमा चढेर जान मन छैन ।’

पाथीभराको दर्शन गर्न जाने थापा दम्पती जस्तै अधिकांश तीर्थयात्री केबलकार निर्माण सुरु भएको सुनेपछि खुसी देखिन्छन् । तर, विभिन्न अड्कल काट्दै विरोध भएको सुन्दा मन खिन्न बनाँछन्, जिल्लावासी जस्तै । ‘पाथीभराको महत्व घट्ने, पहिचान मासिने र जिल्लाको व्यापारमा गिरावट हुने जस्ता भ्रम छर्दै केबलकारको विरोध गरेका छन् । तर, यो जिल्लावासीले छरेको भ्रम र विरोध होइन,’ जिल्लाकै एकमात्र क्याम्पस पाथीभरा क्याम्पसका प्रमुख सजन पौडेल भन्छन्, ‘केबलकारले जिल्लामा समृद्धि भित्र्याउनेमा दुईमत छैन ।’

यस्ता अड्कल भन्दा फरक रूपमा केबलकार निर्माण कार्य सुरु भएको प्रमुख पौडेल बताउछन् । पाथीभरा क्षेत्र विकास समितिका पूर्व अध्यक्षसमेत रहेका पौडेलले करिब तीन दशकअघि नै केबलकार बनाउने योजना जिल्लामा बनेको सुनाए । भने, ‘जिल्लाका जनप्रतिनिधिले यसलाई नै चुनावी मुद्दा बनाए, अनि चुनाव लडे र जिल्लावासीको साथ पाउँदै जितेका पनि छन् ।’ उनले थपे, ‘यो जिल्लावासीको पुरानो सपना हो । चन्द्र ढकालले त यसलाई मुहुर्त रूप दिन खोज्नु भएको मात्रै हो । यसमा जिल्लावासीले साथ पनि दिएका छन् ।’

ताप्लेजुङवासीको चाहना, तीर्थयात्रीको माग र जनप्रतिनिधिको लक्षमा साथ दिँदै पाथीभरा देवी दर्शन केबलकार निर्माण कम्पनीले पुरानो योजनालाई हाल मुहुर्त रूप दिन खोजेको उनको तर्क छ ।

यो योजनामा केही समूह बाहेक जिल्लाका स्थानीय जनप्रतिनिधि र नागरिकको पूर्ण साथ रहेको स्थानीय जनप्रतिनिधिहरूको भनाई छ । ‘तीर्थयात्री केबलकारको प्रतिक्षामा छन् । हामी यस क्षेत्रका जनप्रतिनिधि केबलकार निर्माणका लागि पूर्ण रूपले साथ र सहयोग गर्न तयार छौं । यो योजना त जिल्लाको गौरवको योजना हो,’ फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले भने ।

सम्पदाको अझै विकास गर्ने र जिल्लालाई नै प्रतिफल दिने केबलकार निर्माणको जिल्ला भन्दा बाहिरी व्यक्ति र समूहबाट बढी विरोध हुँदा ताप्लेजुङवासी चिन्तित् छन् । फुङ्लिङ नगरपालिका – ८ का स्थानीय रामकुमार लिम्बु जिल्लामा रोजगारी भित्राउने र जिल्लाको साथै धार्मिक क्षेत्रको प्रचार गर्ने यस्ता योजनाको विरोध हुनु दुर्भाग्य भएको बताउछन् । ‘हामी जिल्लाका स्थानीयवासी त तन, मन र वचनले साथ दिइरहेका छौं । तर, अन्तै कहाँ कहाँबाट विरोध गर्ने र आन्दोलन गर्ने यहाँ आए,’ उनले भने, ‘अस्ति आन्दोलनमा गोली लाग्ने पनि तेह्रथुम र पाँचथरका थिए ।’

उनी ताप्लेजुङवासीको जीवन सुधार्ने यस्तो योजनाको विरोध नगर्न सुझाव दिन्छन् । जिल्लालाई समृद्ध बनाउने यस्ता योजनाको गलत भ्रम छर्दै विकास रोक्न उद्त हुने समूहलाई त्यसो नगर्न स्थानीय नागरिक आग्रह गर्छन् ।

३७९४ मिटरको उचाइमा रहेको पाथीभरा पुग्न सहज छैन । सदरमुकाम फुङ्लिङ भन्दा केही माथी सुकेटार सम्म कालोपत्रे र त्यसपछि कच्चिबाटो हुँदै तल्लो फेदी अर्थात् काफ्ले पार्टी सम्म सडक मार्फत् यात्रा गर्नुपर्छ । तर, यस भन्दा माथि उकालो बाटो हिडेर जानुको अन्य विकल्प छैन ।

पाथीभरा मन्दिर पुग्न गाडीबाट ओर्लिएर ५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ । उकालोबाटो हिँड्नुपर्ने भएकाले वृद्ध, वृद्धा र बालबालिकालाई असहज हुनसक्छ । अझै अपाङ्गता भएकाहरूलाई त पाथीभरा देवीको पाउ छुन कसैको बुइँ चढ्नै पर्छ । कतिपयलाई लेक लाग्ने जोखिम पनि हुन्छ । यस्तै सकसका कारण पाथीभराको महिमा बुझेर पनि दर्शन गर्न नसक्नेहरू हजारौं छन् । भाकलका कारण बाध्यताले जानुपर्नेहरू महँगो सुल्क तिरेर भरियाको पिठ्यूँ चढेर पाथीभरा पुग्नुपर्छ । भरियालाई बोकाउँदा आफ्नै तौलको प्रतिकिलो २०० रुपैयाँ तिर्नुपर्छ ।

केबलकार बनेपछि यसरी महँगो सुल्क तिरेर जाने बाध्यता हट्ने र जिल्लाको होटल व्यवसाय पनि सुधार हुने बताउँछन् उद्योग वाणिज्य संघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य तारानाथ घिमिरे । ‘पाथीभरामा केबलकार निर्माण भएपछि अहिलेको भन्दा तेब्बरको संख्यामा तीर्थयात्री र पर्यटक जिल्लामा भित्रन्छन् । यसले जिल्लाको अर्थतन्त्रमा सुधार आउँछ भने, पाथीभरा जाँदा महँगो शुल्क तिरेर भरियालाई बोकाउनुपर्ने बाध्यता पनि हट्छ,’ उनले भने । केबलकार बनेपछि अहिले भारी बोकिरहेका भरियाले पनि यसै क्षेत्रमा राम्रो रोजगारी पाउने उनको भनाई छ ।

अहिले उकालो र चिप्लो बाटोमा भरियालाई पिठ्यूमा बोकाएर यात्रा गर्दा उच्च जोखिम रहेको घिमिरेको भनाई छ । ‘न यसको बिमा हुन्छ, न सुरक्षाको ग्यारेन्टि नै । तर, बिकल्प नहुँदा यसरी बुईँ चढ्न बाध्य छन् तीर्थयात्री,’ उनले थपे ।

उच्च हिमाली क्षेत्र ठाडो बाटो भएकाले घोडा लगायतका साधनको यहाँ सञ्चालन गर्न सम्भव छैन । बोक्ने नहुँदा तीर्थयात्री हिँड्न नसके बाटैबाट फर्कनु पर्ने बाध्यता छ । कित आफूलाई किलोका हिसाबमा बोकाउन खल्तिभरी रकमको जोहो हुनुप¥यो । त्यसैले यस क्षेत्रमा ताप्लेजुङवासी र तीर्थयात्रीले यात्रा गर्ने विकल्पको साधन लामो समयदेखि खोजिरहेको बताउछन् पाथीभरा क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक मनमणी काफ्ले । भन्छन्, ‘अहिले केही बिकल्प नभएर यसरी भरियालाई बोकाउनु परेको हो । अब केबलकारले यी सबै समस्याको समाधान गर्नेमा जिल्लावासी एकमत छन् ।’

नेपाल सरकारबाट सम्पूर्ण प्रकृया पुरा गरेर केबलकार निर्माण गर्न सुरु भएपछि जिल्लावासी खुसी भएको काफ्लेको भनाई छ । उनले जिल्लामा भित्रीएको विकासलाई स्वागत गर्नुपर्ने र पाथीभराको प्रचार र विकासमा जोड दिनुपर्ने बताए । जिल्लामा केबलकारसहितको विकासको विरोध होइन, स्वागत गर्नुपर्ने भन्दै केही अघि सदरमुकाम फुङलिङमा शन्तिपूर्ण ¥यालीको समेत आयोजना भएको थियो । केबलकार निर्माण भएपछि जिल्लाले विकासमा फड्को मार्ने र पाथीभराको अझै प्रचार हुनेमा जिल्लावासी ढुक्क देखिन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा