काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा नै करदाता सेवा कार्यालय स्थापना हुनुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
उनले करदातालाई सहजताका लागि र व्यवसायीको हौसला बढाउनका लागि पनि ताप्लेजुङमा नै करदाता सेवा कार्यालय स्थापना हुनुपर्ने बताए ।
‘ताप्लेजुङमा पानमा दर्ता भएका पाँच हजार ९२६ व्यवसायी छन् । यहाँबाट वार्षिक ५० करोड जति उठ्ने गरेको छ । यति धेरै कर उठ्दा पनि कर तिर्न यहाँका व्यवसायी ५/६ घण्टा गाडीमा चढेर पाँचथरको फिदिम जानुपर्ने बाध्यता छ । त्यसैले ताप्लेजुङमा नै करदाता कार्यालय स्थापना गर्न म सभामुख मार्फत सरकारलाई आग्रह गर्दछु,’ भट्टराईले भने ।