ताप्लेजुङ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको स्थलगत निरीक्षण गरेका छन् ।
अधिकारीले जिल्ला प्रहरी कार्यालयको भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको बुधबार अनुगमन एवं निरीक्षण गरेका हुन् । त्यस क्रममा उनले प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिए ।
अधिकारीले आचरण र व्यवहारमा सुधार ल्याएर आपसी भाइचारा तथा सहयोगी भावनाका साथ आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिए । संगठनको हित र उद्देश्यलाई सर्वोपरी ठानेर प्रहरीले नागरिकमैत्री सेवा प्रदान गर्नुपर्नेमा उनको जोड छ ।
‘धार्मिक तथा पर्यटकीय क्षेत्रहरु भएको पहाडी जिल्ला ताप्लेजुङमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालनमा प्रहरीले विशेष भूमिका खेल्नुपर्छ । समाजमा हुने विभिन्न अपराधलाई निरुत्साहित गर्न ‘दुर्जनको लागि डर र सज्जनको लागि भर’ भएर प्रहरीले काम गर्नुपर्छ,’ अधिकारीले भने । उनले उच्च मनोवलका साथ प्रहरीले सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए ।
निरीक्षण भ्रमणका क्रममा ताप्लेजुङ पुगेका डीआईजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलसहित विभिन्न युनिटमा कार्यरत प्रहरीलाई पुरस्कृतसमेत गरेका छन् ।