काठमाडौं । बढ्दो जनघनत्व तथा थपिँदै गएका अग्ला घरका कारण शहरी क्षेत्रमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो समय शहरी क्षेत्रमा आगलागीका घटना बढिरहेका छन् । देशभर दैनिक १४ वटा आगलागीका घटना हुने गरेका छन् भने चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट ६६ जनाको मृत्यु भइसकेको छ । तर दक्ष जनशक्ति, प्रविधि र सूचना प्रणाली नहुँदा शहरी क्षेत्रमा विपद्को जोखिम बढ्दो छ ।
काठमाडौं महानगरपालिकासँग चालु अवस्थामा ६ वटा वारुणयन्त्र छन् । तर ती साँघुरा गल्लीमा प्रवेश गर्न कठिन भएपछि थप ३ अत्याधुनिक यन्त्र खरिदको प्रक्रियामा महानगर छ । यस्तै भक्तपुर नगरपालिकासँग पनि ४ वटा वारुणयन्त्र छन् । आगलागी जस्ता विपद्का घटनाका लागि २४ सै घण्टा कर्मचारी ड्युटीमा हुन्छन् । ललितपुर महानगरपालिकासँग एक अत्याधुनिक तथा पाँच साधारण गरी ६ वटा वारुणयन्त्र छ । ललितपुरले वारुणयन्त्र, पानी बोक्ने गाडी र एम्बुलेन्सका लागि मात्रै २० कर्मचारी नियुक्त गरेको छ । जसमध्ये १५ कर्मचारी र नगर प्रहरीहरू २४ सै घण्टा ड्युटीमा खटिन्छन् । आगलागीको घटना थाहा पाउनासाथ वा फोन आए २ मिनेटभित्र टोली घटनास्थल हिँडिसक्छ । सानो र प्रविधियुक्त वारुणयन्त्र भएकाले काठमाडौं उपत्यकाभरि ललितपुरको वारुणयन्त्रको माग हुने गरेको छ, जसले ४० तलासम्मको आगो नियन्त्रणमा लिन सक्ने महानगरको दाबी छ ।
तर घना बस्तीका घरका कारण शहरी क्षेत्रमा आगलागीका घटना व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएका छन् । जसको प्रमुख कारण हो मापदण्ड विपरीतका संरचना । काठमाडौं, ललितपुर र भक्तपुरमा ८० प्रतिशतभन्दा बढी भवन मापदण्ड विपरीतका रहेको अध्ययनहरूले देखाएका छन् । काठमाडौं उपत्यका बाहिर पनि भवनसंहिताको पालना भएको पाइँदैन ।
नेपाल प्रहरीको तथ्यांक अनुसार देशभर दैनिक १४ वटा आगलागीका घटना हुने गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट ६६ जनाको मृत्यु भइसकेको छ भने ३९६ जना घाइते छन् । एक अर्ब ३३ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । करिब ३० प्रकारका विपद्को सामना बर्सेनि बेहोर्नुपर्छ । आगलागीको विपद् प्राकृतिकभन्दा मानवीय कारणले बढी हुने हुँदा घटना हुनै नदिन र भइहाले ज्यान बचाउन सकिने विज्ञहरूको दाबी छ ।
तर, त्यसका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, आगो निभाउने दस्तालाई तालिम दिनुपर्ने र राज्यले यन्त्र उपकरणमा लगानी गर्नुपर्ने उनीहरू बताउँछन् ।