Lite Nepal

आइतबार, बैशाख १४, २०८२

मुस्ताङ । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ ।

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन् ।

घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक सङ्ख्याले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वेक्षण गरिरहेको छ । उक्त सर्वेक्षणका क्रममा भएको छलफल तथा अन्तरक्रियामा जोमसोमका स्थानीयवासीले जलवायु सङ्कटले हिमाली जिल्ला मुस्ताङको खानेपानी, कृषि र पशुपालनलगायत जैविक विविधतामा असर पुर्‍याउँदै गइरहेको औँल्याएका हुन् ।

घरपझोङस्थित जोमसोमबजारमा हिमस्रोत घट्दै जाँदा खानेपानीको चरम समस्या देखिएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दीपक शेरचनले बताए । जोमसोममा विगतको तुलनामा घरधुरीको सङ्ख्या वृद्धि हुँदै गइरहेको, व्यावसायिक क्षेत्र परेको र सरकारी कार्यालयसमेत रहेकाले यहाँ खानेपानी उपयोग अत्यधिक हुने भए पनि पछिल्लो समय मुहान सुक्दै जाँदा आवश्यकताअनुसार खानेपानीको सेवा पुर्‍याउन नसक्ने अवस्था रहेको अध्यक्ष शेरचनले सुनाए । मुस्ताङको बजारको खानेपानी उपभोक्ताको माग धान्न मुस्किल परेकाले वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

जोमसोम बजारका लागि खानेपानी आपूर्तिका लागि तीनवटा हिमस्रोत रहेको भए पनि जलवायु सङ्कटका कारण मौसमी तापक्रमको असरले उल्लिखित खानेपानीको स्रोत घट्दै गइरहेको अध्यक्ष शेरचनले बताए । जोमसोम बजारका लागि खानेपानी सेवा पु¥याउन जोमसोमको कुङ्ले लेंक र ठिनी १/२ को पानीको मुहान सुरक्षित रहे पनि ती स्रोतहरु हिमस्रोत सुक्दै जाँदा खानेपानीको अभाव भएको छ ।

“व्यावसायिक क्षेत्र भएकाले खानेपानीको माग बढी छ”, उनले भने, “पानीको स्रोत घट्दो छ, यसैले अन्य ऊर्जा सम्भावना खोजेर दीर्घकालीन समस्या खोज्नुपर्ने आवश्यकता छ ।”

हिमाली क्षेत्रको मुख्य फलफूल बाली स्याउलगायत अन्य रैथाने बालीको व्यवस्थापन र मलजल गर्ने बेलामा हिउँ पर्न छाडेको र स्याउको फूल फुल्ने बेलामा निरन्तर वर्षा हुँदा यहाँ स्याउलगायतका अन्नबालीमा क्षति पुग्ने गरेको घरपझोङ—४ का किसान राजेन्द्र शेरचनले बताए । अनुकूल मौसममा हिउँ नपर्नु र बेमौसममा हिउँ पर्दा फलफूल बगैँचामा फुल्दै गरेका फूलहरू झर्ने तथा तापमान वृद्धिले स्याउलगायतका अन्नबालीमा विभिन्न रोगकिराको सङ्क्रमण देखापर्दा स्याउलगायतका अन्नबालीको उत्पादन र गुणस्तर खस्किन थालेको घरपझोङका किसान शेरचनले उल्लेख गरे । मौसम परिवर्तनका कारण मुस्ताङमा कुनै वर्ष पर्याप्त स्याउ उत्पादन हुने र कुनै वर्ष न्यून हुने गरेको किसान बताउँछन् ।

घरपझोङका पशुपालक किसान भूपेन्द्र शेरचनले जलवायु परिवर्तनको असर यहाँका पशुपालन व्यवसायमा देखिन थालेको बताए । हिमाली उच्चलेंकमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस पलाउन छोडेको उनले बताए । “हिमस्रोत घट्दा उच्चलेंकमा याकचौँरीको व्यवस्थापनमा समेत समस्या परेको छ, वन्यजन्तुको जोखिम पनि यसैका कारण थपिएको छ”, उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा