काठमाडौं । केही दिनयता तुवाँलोले ढाकिएको काठमाडौंमा वायु प्रदूषण बढेको छ । मंगलबार राति ८ बजे मापन गरिएको काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २३५ अर्थात् ‘निकै अस्वस्थ’ तहमा पुगेको हो ।
विश्वको वायु गुणस्तर मापन गर्ने स्विट्जरल्यान्डको वेबसाइट आईक्यूएयरका अनुसार मंगलबार नै बिहान १०:४५ देखि ११:४५ मा काठमाडौंको वायु गुणस्तर ‘खतरनाक तह’ अर्थात् एक्यूआई ३०० पुगेको थियो । सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा काठमाडौंसँगै म्यानमारको यांगुन र बंगलादेशको ढाका छन् । यांगुनको एक्यूआई १६४ र ढाकाको १५६ सम्म पुगेको थियो । भारतको मुम्बईमा मंगलबार एक्यूआई १५० सम्म पुगेको थियो ।
हावामा धूवाँ, धूलो र ग्यासका कारण काठमाडौंमा प्रदूषण बढेको वातावरणविद्ले बताएका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं वायु प्रदूषण विज्ञ नारायणबाबु धितालका अनुसार नेपाल र दक्षिण एसियाका क्षेत्रमा आगलागीको घटना बढेसँगै हावामा प्रदूषण फैलिएको छ । ‘नेपाल, भारत र पाकिस्तानका धेरै ठाउँमा आगलागीका घटना देख्न सक्छौं । तर यो नयाँ होइन,’ उनले भने, ‘हरेक वर्ष यस समयमा वन डढेलो र आगलागी उच्च तहमा पुग्ने गर्छ । त्यसले गर्दा काठमाडौंमा मात्रै नभई दक्षिण एसियाली क्षेत्रमै प्रदूषण बढेको छ ।’
नेपालमा विशेषगरी जाडो (मंसिरको दोस्रो सातादेखि पुसको दोस्रो सातासम्म) र सुक्खायाम (फागुनको तेस्रो सातादेखि वैशाखको तेस्रो सातासम्म) मा वायु प्रदूषण उच्च तहमा पुग्ने वातावरण विज्ञ भूपेन्द्र दास बताउँछन् । ‘काठमाडौंको भौगोलिक स्थिति कचौरा आकारको छ । चिसो समयमा धूलाका कणहरूको तह हुने र माथिको वायुले थिच्ने भएकाले प्रदूषण तल नै रहन्छ,’ उनले भने, ‘फागुनदेखि डढेलो, कृषि अवशेष जलाउनु र अन्य कारणले प्रदूषण बढ्ने गरेको छ ।’
इँटाभट्टाका कारण पनि प्रदूषण बढ्ने गरेको उनको भनाइ छ । ‘काठमाडौं उपत्यकामा करिब ९० देखि १०० इँटाभट्टा छन् । यस समयमा सामान्यतया ८०–९० वटा इँटाभट्टा चल्छन्,’ उनले भने, ‘अहिले इँटा बनाउँछन् र स्टोर गर्छन् । केही महिनापछि इँटाभट्टा बन्द हुन्छ ।’ दासका अनुसार २०७७ सालपछि अहिलेको वायुको गुणस्तर सबैभन्दा अस्वस्थ हो । त्यतिबेला वायु प्रदूषण अत्यधिक भएपछि विद्यालय बन्द गरिएको थियो । ‘चार वर्षपछि अहिले यही अवस्था देखिएको छ । प्रदूषण बढाउनुमा कलकारखानादेखि सवारीसाधनको इन्धन बढी खपत पनि कारण हुन्,’ उनले भने ।
वातावरण विभागले नेपालमा विशेषगरी मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै सुरक्षा अपनाउन सूचना जारी गर्दै आएको छ । विभागअनुसार वायु गुणस्तर १०१–१५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथिलाई खतरनाक तह मानिन्छ । यो समयमा विभागले बालबालिका, वृद्ध, मुटु तथा श्वासप्रश्वासका रोगी र गर्भवती महिलालाई असर गर्ने भन्दै सचेत हुन अनुरोध गरेको छ । साथै वायु प्रदूषण बढाउने क्रियाकलाप नगर्नसमेत आग्रह गरेको छ ।
दूषित हावामा सास फेरिरहँदा यसले दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगहरू निम्त्याउने सिभिल अस्पतालका मेडिकल निर्देशक एवं छाती रोग विशेषज्ञ डा.विदेश विष्ट बताउँछन् । ‘वायु प्रदूषणले धेरै अंगमा असर गर्न सक्छ । यसले विशेषगरी सिधैं फोक्सोमा असर गर्छ ।’ उनले भने, ‘साना कणलाई नाकले पनि छान्न सक्दैन । त्यो कहिलेकाहीं फोक्सोमार्फत रगतमा जान्छ । यसको अहिले नै असर देखिँदैन । वर्षौंपछि भने दम र फोक्सोको क्यान्सर निम्त्याउनेछ ।’
प्रदूषणले पहिल्यैदेखि मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई झन् गाह्रो बनाउने उनले बताए । ‘यस्तो प्रदूषणले मानिसमा आँखाको एलर्जी, मुटुको समस्या, चिडचिडाहट हुने समस्या देखाउँछ,’ उनले भने, ‘त्यसैले तुवाँलो लागेका बेला बाहिर निस्कनु र हिँडडुल गर्नु हुँदैन ।’ यस्तो बेला घरबाट बाहिर निस्कनै परे मास्क लगाउनुपर्ने उनी सुझाउँछन् ।