Lite Nepal

सोमबार, चैत्र २४, २०८१

विराटनगर । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई अहिले व्यवस्था र संविधानमाथि धावा बोलिरहेका बेला सडकमा आएर थप दबाब र अन्यौलता सिर्जना नगर्न सुझाव दिएका छन् । 

विराटनगरमा बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले अहिले शैक्षिक क्षेत्रलाई अन्योलमा पारेर शिक्षकहरू सडकमा आइरहनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘उहाँहरूले भनेजस्तो विधेयक संसद्को आगामी अधिवेशन सुरु भएको १ हप्ताभित्र प्रस्तुत गर्छौं । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट ऐनका रूपमा पारित गराउँछौं,’ भट्टराईले थपे, ‘अहिले शैक्षिक क्षेत्रलाई अन्योलमा पारेर शिक्षकहरू सडकमा आइरहनुपर्ने अवस्था हैन । उहाँहरूले चाँडो गरेर वार्तामा बस्नुपर्छ ।’

शिक्षकहरूले राखेका मागमा सरकार र सरकारमा रहेका दलहरू संवेदनशील रहेको स्मरण गराउँदै उनले विद्यालय र आफ्नो गाउँ फर्किएर शैक्षिक क्रियाकलापलाई नियमित रूपमा अघि बढाउन आग्रह पनि गरे ।

लोकतान्त्रिक गणतन्त्र ल्याउन शिक्षकहरूको ठुलो भूमिका रहेको स्मरण गर्दै उनले भने, ‘अहिले व्यवस्था र संविधानमाथि धावा बोलिरहेका बेला शिक्षकहरू पनि सडकमा आएर थप दबाब र अन्यौलता सिर्जना गर्ने कुरा त्यति उचित हुँदैन । थाइल्यान्ड भ्रमणबाट फर्किनेवित्तिकै प्रधानमन्त्रीले सकारात्मक धारणा दिइसक्नु भएको छ । शिक्षकको मागप्रति संसदमा भएका सबै दलहरू सकारात्मक छन् । छिटोभन्दा छिटो विधेयक पास गर्नुपर्छ भन्नेमा कुनै दुई मत छैन ।’

विधेयकलाई छिटो टुङ्ग्याउँदै संसदबाट पास गराउनुपर्ने लगायतका माग राखेर नेपाल राष्ट्रिय शिक्षक महासंघको आह्वान र विभिन्न शिक्षक संघ संगठनसमेतको सहभागितामा शिक्षकहरूले आन्दोलन अगाडि बढाइरहेका छन् । शिक्षकले गरिरहेको काठमाडौं केन्द्रित आन्दोलनप्रति सरकार र सरकारमा रहेका दलहरू संवेदनशील रहेको भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा