काठमाडौं । आज नयाँ वर्ष अर्थात् आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
विक्रम संवत पात्रो अनुसार सौर्यमानक हिसाबले वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । त्यसअघिको अन्तिम साँझ तथा रातदेखि नै साथीभाइ, इष्टमित्र भेटघाट सहित रमाइलो गरी वर्षान्तसँगै नयाँ वर्षको उत्साहका साथ स्वागत गरेका छन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिष्ठान्न भोजन बाँड्दै, सांस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रूपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।