Lite Nepal

शनिबार, बैशाख १३, २०८२

काठमाडौं । चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिका मुख्य आरोपी दुर्गा प्रसाइँविरूद्ध संगठित अपराधदेखि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ ।

दोषी देखिए यी मुद्दामा प्रहरीले उनीमाथि कारबाही त चलाउने छ नै, तर प्रसाइँले त्यतिमै मुक्ति भने पाउने देखिँदैन । किनभने चैत १५ को घटनाबाहेक प्रहरीले प्रसाइँमाथि उनको आर्थिक कारोबारमाथि पनि अनुसन्धान थालेको छ ।

दुर्गा प्रसाइँविरूद्ध चैत १५ को घटनालाई लिएर आगजनी, ज्यान मार्ने कसुर, संगठित र राज्यविरूद्धको अपराधमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । तर प्रसाइँ त्यसदिनको हिंसात्मक प्रदर्शनका नाइकेमात्र होइनन्, विवादित व्यवसायी पनि हुन् ।

प्रहरीले प्रसाइँको विभिन्न व्यवसायिक प्रतिष्ठानमा गरेको लगानी र उनको कारोबारमाथिसमेत गम्भीर अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मेडिकल व्यवसायी प्रसाइँकाे सम्पत्ति र उनले बैंकबाट लिएको ऋण दुरूपयोग सम्बन्धमा अनुसन्धानका लागि उच्च अदालत पाटनबाट पक्राउ पुर्जी नै लिइसकेको छ । सीआइबीको अनुसन्धानले प्रसाइँ विगतमा बैंक तथा वित्तिय संस्थाविरूद्ध किन खनिन्थे भन्नेसमेत प्रष्ट पार्ने छ ।

सीआइबीले संकलन गरेको तथ्याँक अनुसार प्रसाइँ ३१ विधिन्न कम्पनीमा प्रत्यक्ष संलग्न छन् । जसका नाममा उनले करिब ६ अर्ब ऋण लिएका छन् । तर जुन व्यवसायको नाममा ऋण लिएको हो, त्यसमा उनको लगानी छैन ।

जुन व्यवसायका नाममा ऋण लिएको हो, त्यहाँबाट आम्दानी गरेर बैंकको ऋण तिर्नु पर्नेमा उनले सबै पैसा अन्यत्र लगेका छन् । प्रसाइँले तत्कालिन एनसीसी बैंकबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख ऋण लिएका छन् ।

त्यस्तै इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एटरिएमको लागि ५ करोड ऋण प्रवाह भएको छ । त्यस्तै गुडविल फाइनान्स लिमिटेडबाट प्रसाइँकै युए मेडिको सप्लाइ एण्ड इक्विपमेन्ट प्राइभेट लिमिटेडको नाममा १० करोड कर्जा प्रवाह भएको छ । तर त्यो सबै रकम जुन कम्पनीका नाममा लिएको हो त्यसमा लगानी भएको छैन ।

बैंक तथा वित्तिय संस्थाहरूबाट लिएको पैसाको स्रोत लुकाउन अन्य जटिल शंकास्पद कारोबार गरेको तथ्य सीआइबीले संकलन गरेको छ । प्रहरीका अनुसार प्रसाइँले लिएको ऋण दुरूपयोग मात्रै गरेका छैनन्, बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको नाममा लिएको कर्जाको साँवा ब्याज चार वर्षदेखि तिरेका छैनन् । परियोजनाका लागि आवश्यकभन्दा बढी ऋण लिएको समेत सिआइबीकै अनुसन्धानबाट खुलेको छ ।

बाहिर राजनीतिक र वित्तिय संस्थाहरूविरुद्ध चर्को बोल्ने प्रसाइँ आफैंले लिएको ६ अर्ब ऋण गत वर्षको असोज मसान्तसम्म ब्याजसमेत नतिरेपछि ७ अर्ब २५ करोड पुगेको छ ।

यी तथ्यहरूले दुर्गा प्रसाइँले राष्ट्र बैंक ऐन विपरित काम गरेको आरोप छ भने बैंकबाट एउटा उद्देश्यका लागि लिइएको रकम अन्य ठाउँमा लगेर सम्पत्ति शुद्धिकरणको कसुर पनि आकर्षित हुने छ ।

प्रसाइँले संचालन गरेको केही कम्पनीको बैंक खाता समेत रोक्का राखिएकामा सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिइसकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेकै बेला सीआइबीले पनि बयान लिने तयारी गरेको छ । सीआइबीले राष्ट्रबैंक ऐन र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गरिरहेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा