विराटनगर । निजी क्षेत्रका विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।
सोमवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुलीको बिशेष सक्रियतामा निजी क्षेत्रका व्यक्तिहरु पीसीआर मेसिन खरिद गर्न तत्पर भएका थिए ।
महानगरले पिसिआर मेसिन संगै आरएनए एक्सट्राक मेसिन र महानगरकै आफ्नै स्रोतवाट ३ सय २० लिटर क्षमताको फ्रिज ,बायो सेफ्टििक क्याविनेट सेट १ थान,माइक्रो सेन्ट्रिफ्युज एक थान उपलब्ध गराएको छ ।
यस संगै पीसीआर मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराई बीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।
रोहवरमा महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोख्रेल र कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दास रहेका छन् ।
कार्यक्रममा सहभागी प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले बिषम परिस्थितीमा तीन तहका सरकारको समन्वय आबश्यक रहने बताए ।
यस्तै सोही अवसरमा पीसीआर मेसिन खरिदका लागी केएल दुगडका तर्फवाट ५ लाख , आरती स्ट्रिपले ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।
निजी क्षेत्रको स्वस्र्फुत सहयोगको मेयर भीम पराजुलीले प्रशंसा गरेका छन् ।
मेसिन ल्याउनका लागि अहोरात्र लाग्ने सवैलाई धन्यवाद समेत दिएका छन् ।
मेसिन जडानपछि विराटनगरमा दैनिक झण्डै १ हजार जनासम्मको पीसीआर जाँच गर्न सकिने बताइएको छ ।