काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले पार्टी प्रवक्ता नारायणकाजीसँग तीन वटा विषयमा जवाफ माग गरेका छन् ।
प्रेस संगठन नेपालका इञ्चार्जसमेत रहेका गौतमले श्रेष्ठसँग व्यक्तिगत नभई पार्टीको प्रवक्ताका हिसाबले आफूले केही प्रश्न राखेको र तिनको उत्तर खाजेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले नेकपाको अन्तरिम विधानमा भएको व्यवस्था, राजनीतिक प्रतिवेदनको निस्कर्ष र संविधानलाई आधार बनाएर प्रवक्ता श्रेष्ठसँग सार्वजनिक रुपमै जवाफ मागेका हुन् ।
उनले फेसबुकमा यस्तो लेखेका छन् :
१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधानको सर्वोच्चता, विधिको शासन …आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्व छ। (अन्तरिम विधान २०७५ पेज ५ प्यारा दोस्रो)
२ विचार र कार्यक्रमका आधारमा ‘विधिको शासन, शक्तिको पृथकीकरण जस्ता विषयहरु यसका अभिन्न अंग हुनेछन्। (राजनीतिक प्रतिवेदन पेज २० (प्यारा दोस्रो)।
३ नेपालको संविधान भाग ७,धारा ७८ को (४) उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए पनि तत्काल कायम गरेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्रिपरिषदमा नियुक्तिका लागि योग्य हुने छैन भनी प्रस्ट लेखिएको छ। त्यसकारण त्यस्तो व्यक्ति राष्ट्रियसभामा जान र मन्त्री बन्न मिल्छ कि मिल्दैन ? प्रवक्ताज्यू, पार्टीको धारणा प्रस्ट पारिदिन माग गर्दछु।