पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१० का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति सवा ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार उपचारका लागि भदौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
यसैबीच मंगलबार दिउँसो १ बजेसम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा प्रदेशका विभिन्न जिल्लाका ५१ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
अधिकांश संक्रमित कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन ।
संक्रमितमध्ये प्रदेशभरी १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा हाल सक्रिय संक्रमित संख्या १ हजार एक सय ९० रहेको छ ।