चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर चल्ने भएको छ ।
रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार दसैँंको समयमा करिव १ सय ५० जना कामदार निर्माणमा खटिनेछन् ।
अध्यक्ष सीताराम कट्टेल धुर्मसले कामदारको चाहनाअनुसार नै दसैँको अवधिमा पनि काम गर्न लागिएको बताए । ‘हामीसँग भएका कामदारमध्ये कतिपय दसैँंका लागि घर जानुहुन्छ ।
अहिलेको परिस्थिति र निर्माण कार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरै जसोले रंगशाला उभ्याएर मात्रै घर जाने बताएपछि काम सञ्चालन गर्न लागिएको हो,’ कट्टेलले भने ।
रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीँ दसैँं मनाउने धुर्मसले बताए ।
२०७६ चैत ११ गते लकडाउन सुरु भएपछि करिब डेढ महिना काम रोकिए पनि २०७७ वैशाख २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेको थियो । अहिले २ सय ३३ जना मजदुर कार्यरत छन् ।
रंगशालाको ३ सय ६० वटा पिल्लरमध्ये २ सय वटा पिल्लर ठड्याइसकिएको छ ।
स्टान्ड ‘ए’ मा सबै पिल्लर ९१ सय ३५ वटा राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड ‘बी’मा ६५ वटा पिल्लर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।
परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै, टाइवीमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामाग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीका बावदुद पनि रंगशालाको काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । online khabar